प्राइम खबर संबाददाता | साउन ४, २०८० बिहिबार
रौतहटको चन्द्रपुर नगरपालिका कार्यालयसँग एक स्थानीयले सुचनाको हक माग्दै निवेदन पेश गरेका छन् ।
बिहीबार चन्द्रपुर नगरपालिका वडा नम्बर–४ का स्थानिय तेज बिक्रम कार्कीले चन्द्रपुर नगरपालिका कार्यालयसँग सुचनाको हक बमोजिम सुचना उपलब्ध गराउन निवेदन पेश गरेका हुन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको मेनुका सिमसार प्राथामिक बिद्यालयमा शिक्षाको नाममा हुने भ्रष्टाचार र अनियमितता रोक्न स्थानिय कार्कीले नगरपालिकासँग सुचनाको हक माग्न निवेदन पेश गरेको जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिकाको कार्यालयलाई पेश गरिएको निवेदनमा नेपालको संविधानको धारा २७ मा प्रत्याभुत सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा अनुसार पाँच बुँदे सुचना उपलब्ध गराउन नगरपालिकाका सँग माग गरिएको उनले बताए । प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी समक्ष सुचनाको हक माग्दै निवेदन पेश गरी कार्यालयमा दर्ता गराईएको स्थानिय कार्कीले जानकारी दिएका छन् ।
सो निवेदनमा मेनुका सिमसार प्रा.वि मा भर्ना भएका विद्यार्थीहरुको सम्पुर्ण विवरणहरुको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन माग गरिएको छ । विगत ९ बर्षदेखि व्यवस्थापन समितीले विद्यालयमा भएको अभिभावक भेलाको निर्णय प्रमाणीत प्रतिलिपीको माग गरिएको छ ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिको माइन्युटको प्रमाणित प्रतिलिपीको माग गरिएको छ । सो विद्यालयमा ५ वर्ष देखिको चन्द्रपुर नगरपालीकाको कार्यालय मार्फत भौतीक निमार्ण लगायतका विषयहरुमा खर्च भई नगरपालिकाबाट भुक्तान गरिएको रकमको हालसम्मको विवरण, सो विद्यालयले प्राप्त अनुदान रकम, कुल बजेट कार्य विवरण सहितको प्रमाणित प्रतिलिपी सो निवेदनको चौथो बुँदामा उल्लेख गरिएको छ । विद्यालयको हालसम्मको परिक्षामा उपस्थित परीक्षार्थी संख्या र परीक्षाफलको विवरण प्रमाणित प्रतिलीपी उपलब्ध गराउन स्थानीय कार्कीले माग गरेका छन् ।
चन्द्रपुर नगरपालीकाको कार्यालयका शिक्षा संयोजक दीपेन्द्र मण्डलका अनुसार मेनुका सिमसार प्राथमिक विद्यालयले ३ कक्षा सम्मको मात्र सम्बन्धन भएपनि ५ कक्षा सम्म कक्षा सञ्चालन गरेको बताएका छन् । सो विद्यालयको सम्बन्धमा नगरप्रमुख समक्ष बुझ्दा, " नगर पालिका मै सो विद्यालयको बारे धेरै जनगुनासो दिनप्रतिदिन बढ्दै गएको र अनुगमनको क्रममा समेत विद्यालयले पेश गरेको विद्यार्थी संख्या अनुसारको विद्यार्थी नपाइएको हुँदा यस सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। निकट भविष्यमा नै शिक्षा समितिको बैठक मा सो विषयलाई प्राथमिकतामा राखेर जाने नगरको योजना भएको बताए । नगर प्रमुख संजय कुमार काफ्लेका अनुसार विद्यालयले गरेको बदमासी बिरुद्ध नगरपालिकाले छानबिन गरी कार्वाही गर्ने बताएका छन् ।
मेनुका सिमसार प्राथमिक विद्यालय पुर्व मन्त्रीको राजनितिक आडमा सञ्चालन रहेको र कार्यकर्तालाई जागीर खुवाउने,राज्यकै बजेट वर्षौ देखि दोहन हुदा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नभएको स्थानीयको गुनासो बढ्दै गएको छ।