प्राइम खबर संबाददाता | साउन १४, २०८० आइतबार
रौतहट जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ । नगरपालिकाले जारी गरेको सुचनामा माबि तहको लागी १३ जना,निमाबि तहको लागी २१ जना र प्राबि तहको लागी ३० जना शिक्षक माग गरिएको हो ।
चन्द्रपुर नगरपलिका नगर कार्यपालिकाको गत साउन ८ गतेको स्वीकृत स्वयंसेवक शिक्षक कोटामा नगर शिक्षा समितिको निर्णयानुसार सो संख्यामा शिक्षक आवश्यकता माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले बताए । चन्द्रपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक तथा करार शिक्षक र कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०८० बमोजिम नगरपालिकाबाट विनियोजित बजेट अनुरुप शिक्षकको माग गरिएको नगर प्रमुख काफलेले प्राइम खबरलाई बताए ।
चन्द्रपुर भित्र संचालित विभिन्न सामुदायिक विद्यालयहरुबाट माग भएअनुसार करार सेवामा स्वयंसेवक शिक्षक पदपुर्ति गर्नुपर्ने भएको हुँदा नगरपालिका आफैले शिक्षक भर्ना गर्न लागेको हो । चन्द्रपुरमा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर माथि उकास्न नगर प्रमुख काफ्लेको पहलमा यो कार्यको थालनी गरिएको चन्द्रपुर १ का वडा अध्यक्ष बलराम राउतले बताए । शिक्षा जस्तो संबेदनशिल क्षेत्रको बिकाशको लागी नगरपालिका सदैब तयार रहेको बताउदै शिक्षक दरबन्दीमा इच्छुक योग्य नेपाली नागरिकहरुलाई आउदो साउन २६ गतेसम्म आबेदन दिन म्याद राखिएको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिएका छन् । आवेदन फारम यस कार्यालयको शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्राप्त गर्न सकिने समेत उनले बताए।