प्राइम खबर संबाददाता | साउन १४, २०८० आइतबार
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले रौतहटमा आईतबार मोटरसाइकल र्याली निकालेको छ । सयौको संख्यामा गरुडा स्थित श्रीराम सुगर मिलको चौरबाट निस्किएको मोटरसाइकल र्याली चन्द्रनिगाहपुर सम्म आएर कोण सभामा परिणत भएको थियो। आजपाका कार्यकर्ताहरु सहभागी उक्त र्यालीमा अधिकांश भारतीय नम्बर प्लेटका मोटरसाइकलको प्रयोग गरिएको थियो ।
१७ वर्ष अघि भएको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै र्याली निकालिएको आम जनता पार्टी ( आजपा) का नेता सरोज बछारले बताए । आजपाले भोलि देखि गर्ने भनेको अनिश्चितकालीन रौतहट बन्दको पूर्व सन्ध्यामा मोटरसाइकल र्याली निकालिएको नेता बछारले जनाएका छन् । करिब तीन चार सयको संख्यामा आजपाले र्याली सहित कोण सभा चन्द्रनिगाहपुर चोकमा राखेको थियो।
सभामा आजपाका वरिष्ट उपाध्यक्ष बद्री न्यौपाने सहितका नेताहरुले मन्तव्य राखेका थिए। गौर हत्याकाण्ड २०६३ साल चैत्र ७ गते रौतहट सदरमुकाम गौर मा तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ता बीच कार्यक्रम स्थलको विषयलाई लिएर झडप हुँदा २८ माओवादी कार्यकर्ताको हत्या भएको थियो।