प्राइम खबर संबाददाता | साउन १५, २०८० सोमबार
रौतहट सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले विजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
गौर नगरपालिका वडा नम्वर ३ का २० बर्षिय प्रिन्स अन्सारीलाई सोही वडाका वडाध्यक्षको रोहवरमा विजुलीको पोलमा आईतवार दिउसो ४ बजेको समयमा बाँधेर पशु सरह निर्घात कुटपिट गरेको हो ।
गत शुक्रवार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा बादविवाद भई सामान्य झै झगडा भएका विषयलाई लिएर सोही रिसिइवी साध्न घरमा कोही नभएको मौका छोपी अन्सारीलाई घरबाट बाहिर निकालेर विजुलीको पोलमा बाँधी पशु सरह कुटपिट गरिएको पीडित युवाको दाजु इलियस अन्सारीले बताए। मो. साजिद, उसको वुवा, भाई, बतहा र आश मह्म्मदले प्लास्टिकको पाइप, मुक्का, लाठी, खुटाले निर्घात कुटपिट गरेर मरणासन्न बनाएको पिडित युवकको दाजु अन्सारीले बताए ।
भाई प्रिन्सलाई अमानविय व्यवहार एवं तालिवानी शासन जस्तो वडाध्यक्ष अन्सारुल भन्ने अब्दुल ताहिरको रोहवरमा यसरी यातना दिनु मानवअधिकारको चरम उलंघन भएको स्थानीयबासीले बताएका छन् । आफ्नो भाई माथि गरिएको पशुजन्य व्यवहार र यातना बिरुद्द जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दरखास्त गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको तथा सो सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।