प्राइम खबर संबाददाता | साउन १८, २०८० बिहिबार

रौतहट मधेशका विभिन्न जिल्लाहरू सँगै रौतहटमा पनि ‘भाइरल फ्लु’ आँखा पाक्ने रोग तीव्र रूपमा फैलिएको छ । जिल्लाको विभिन्न स्थानमा रहेका क्लिनिक सँगै आँखा अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको छ । यसैबीच चन्द्रनिगाहपुरका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको अत्यधिक रहेको छ । 
चन्द्रपुर नगरपालिका क्षेत्रमा जिल्लाको विभिन्न स्थानबाट आई बसोबास गर्ने गरेकाहरुको संख्या धेरै रहेको छ  त्यसले गर्दा पनि आँखा अस्पतालमा आँखा पाक्ने बिरामी सङ्ख्या तीव्र गतिमा बढ्दै गएको नेत्र रोग विशेषज्ञ डा. शैलेश पौडेलले बताए । धेरै जस्तो एउटै घरका परिवारमा यो रोगबाट सङ्क्रमित पाइएका छ । 
आफ्नो पालिकामा आँखा पाक्ने भाइरल रोगको प्रकोप दिन प्रतिदिन बढ्दै गएको प्रति चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले चिन्ता र चासोको विषय भएको भन्दै निःशुल्क औषधि वितरणको थालनी गरेका छन्।  आँखामा राख्ने थोपा औषधि हाल महँगो रुपयाँमा बिरामीले खरिद गर्दै आउनुपरेको बाध्यता हटाउन नगर प्रमुख काफ्लेले लोकप्रिय कदम उठाएका हुन् । 


विगत केही दिन देखि समुदायमा व्यापक रुपमा आँखा पाक्ने रोग फैलिरहेकोले उक्त रोगबाट बचन र बचाउनको लागि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख ज्यूको पहलमा चन्द्रपुरका सबै सामुदायिक स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पतालमा निःशुल्क औषधीको व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले बताए ।
आँखा पाकेको भाइरल फ्लु रोगको उपचारमा प्रयोग हुने आई ड्रपका साथै सर्पदंश  र विभिन्न रोगहरुको औषधीको व्यवस्थापन नगरपालिकाले गरेको कार्यालय नगर प्रमुख काफ्लेले जानकारी दिएका छन् । 
आँखाका बिरामीमध्ये अस्पतालमा आउनेमा ५० प्रतिशत आँखा पाक्ने समस्या देखिएको छ । सङ्क्रमणको सुरुआतमा आँखा बिझाउने र चिलाउने, आँखा रातो हुने, आँखामा कचेरा लाग्नुका साथै आँसु आउनु, घाममा हेर्न अप्ठेरो हुनु, आँखाको ढकनी सुन्निनु, एउटा आँखाबाट अर्को आँखामा सर्नु यस रोगको लक्षण रहेका छन् । 
गर्मीयाममा यसको प्रकोप फैलिने र यसबाट सबै उमेरका मानिस सङ्क्रमित हुने गर्छ । विशेष गरेर पछिल्लो समय स्कुल, कलेजका विथार्थीमा यो रोगको प्रकोप बढी देखिएको छ। भाइरल फ्लु’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि रोग निको हुन्छ ।