प्राइम खबर संबाददाता | साउन २२, २०८० सोमबार
विषालु सर्पले टोक्दा सर्लाहीमा एक बालकको ज्यान गएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं–५ महोनपुर घर भएका नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्दको विषालु सर्पले टोक्दा ज्यान गएको हो । चन्द्रनगरकै श्रीनगरस्थित मावली घरमा बसेर पढ्दै आएका बालकलाई आइतबार राति सुतेकै ठाउँमा करैत प्रजातिको विषालु सर्पले टोकेको थियो ।
राति बालकसँगै सुतेका अन्य बालबालिकाले नुरसैद्दलाई कालो सर्पले कानमा टोकेको जानकारी अभिभावलाई गराएपछि उनलाई उपचारको लागि सुरुमा नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यतिबेलासम्म बालक सर्पको विषले लठ्ठ परिसकेका थिए ।
बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखेपछि नवपुरका स्वास्थ्यकर्मीले उनलाई तुरुन्तै प्रादेशिक अस्पताल जनकपुर लैजान सुझाव दिएका थिए । जनकपुरमा उपचारकै क्रममा राति नै बालकको मृत्यु भएको हो ।