सन्तोष काफ्ले | साउन २४, २०८० बुधबार
नेपाल किसान महासंघ रौतहट जिल्ला कार्यसमितिले आफ्नो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस निकट जनवर्गीय संगठन नेपाल किसान संघको ७२ औं स्थापना दिवसको अवसरमा बुधबार चन्द्रपुर नगरपालिका वडा नम्वर १ स्थित मंगलपुरमा चियापान कार्यक्रम सँगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेसका युवा नेता गोपाल हुमागाईले बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व किसान संघका जिल्ला अध्यक्ष कमल राउतले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नेपाल कृषि प्रधान मुलुक भएतापनि यहाँका अधिकांश किसानहरू सधैं पीडामा परेको बताएका छन् । समयमा रासायनिक मल,बीउ बिजन र सिंचाईको समुचित व्यवस्था नहुँदा उत्पादनमा ह्रास आउँदै गरेको तर्फ तिनै तहको सरकारले ध्यान दिन जरुरी रहेको उनको भनाइ रहेको छ।
कार्यक्रमका विशिष्ट अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्लेले छिमेकी जिल्ला सर्लाही कृषि उत्पादनमा अब्बल रहेको स्मरण गराउँदै टमाटर पकेट क्षेत्र भनेर लालबन्दिले नाम कमाए झै चन्द्रपुर नगरपालिकाले पनि निकट भविष्यमा नै कृषि उपज उत्पादनमा छलांग मार्ने गरी कार्य थालेको बताए । यसै अनुरूप नगरपालिकाले विभिन्न वडाहरुमा डिप बोरिङ सहितको सिंचाईको व्यवस्था मिलाएको र किसानलाई रासायनिक मल वितरणको कार्य लाई तिब्रता दिएको स्मरण गराए । साथै बीउ बिजन उत्पादन र वितरण लाई सहज बनाउन एकद्वार प्रणालीबाट काम गर्न कृषि शाखालाई समेत निर्देशन दिएको बताए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति एवम् प्रदेश सांसद जितेन्द्र यादव सुनिल, कांग्रेस नेता रबिन चन्द्र कोइराला, महाधिवेशन प्रतिनिधि मिथिलेश मिश्र, सूर्य बहादुर थापा , केदार थापा, वडा अध्यक्ष बलराम राउत लगायत दर्जनौ नेपाली कांग्रेसका विभिन्न तह र तप्काका नेता कार्यकर्ताको उपस्थिति रहेको युवा नेता गोपाल हुमागाईले प्राइम खबरलाई बताए।