सन्तोष काफ्ले | साउन २९, २०८० सोमबार

रौतहटको गढीमाई नगरपालिकाको नवौं नगर सभा सोमबार सम्पन्न भएको छ।


 नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। असार महिनामा नै सक्नुपर्ने नगरसभा आन्तरिक तयारी अभावका कारण निर्धारित समयमा हुन सकेको थिएन । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवको अथक प्रयास एबम् मेहनत पश्चात जनप्रतिनिधि बीचको तिक्तताको खाडल पूर्दै नवौं नगरसभा सभ्य एबम् भव्य रूपमा सम्पन्न भएको हो।



आन्तरीक आय पहिचान तथा आन्तरीक आय वृद्धि गर्दै न्यायोचित वितरण सहित, आर्थिक, सामाजिक,विकास तथा भौतिक पूर्वाधार लगायतका क्रियाकलाप मार्फत समृद्ध नगरपालिका बनाउने उदेश्यको साथ आर्थिक वर्ष २०८०/०८१ मा सो नगरपालिकाले अवलम्बन गर्ने विययगत क्षेत्रका रणनीतिहरु संक्षिप्त रुपमा प्रस्तुत गरेको छ ।



 कार्यक्रम नगर प्रमुख यादवले आगामी आर्थिक वर्षका लागि ५३ करोड १५ लाख ८४ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । जस अन्तर्गत चालु तर्फ ३७ करोड़ ७२ लाख ४७ हजार चार सय रुपैयाँको बजेट पारित गरिएको हो भन्ने पुँजीगत तर्फ १५ करोड ४३ लाख ३७ हजार नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिए।

चालु आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षका लागि प्रस्तावित १२ करोड ५० लाख रुपैयाँ घटी बजेट पारित गरिएको हो। आन्तरिक राजश्व तर्फ ६ करोड , शसर्त अनुदान तर्फ ३ करोड, समानीकरण तर्फ २ करोड , राजश्व वाडफाट तर्फ ५० लाख , मालपोत रोयालिटी तर्फ ५० लाख र राजश्व बाँडफाँड प्रदेश तर्फ ५० लाख घटी बजेट आएको नगरपालिकाका लेखा प्रमुख कामेश्वर सहनीले प्राइम खबरलाई बताए।