प्राइम खबर संबाददाता | असोज ११, २०८० बिहिबार
सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वामा जलाउन लागिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय सुनिल साहकी २१ वर्षीया श्रीमती मनिषा देवी साहको शव सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधबार बेलुकी मनिषाको मृत्यु भएको थियो । मनिषाको शरीरको विभिन्न अंगमा निलडाम भएको र उनको मृत्युपछि अन्तिम संस्कार गर्न लगेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले शवलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको शवलाई प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमा लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियारले बताए ।
परिवारले मनिषाको शवलाई दाहसंस्कार गर्न गाउँ नजिकको मनुसमारा खोला किनारमा लगेका थिए । प्रहरीले शवलाई नियन्त्रणमा लिएर घटनास्थलबाट मृतकका श्रीमान सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अघि बढाएको डीएसपी पन्जियारले बताए ।