प्राइम खबर संबाददाता | असोज १९, २०८० शुक्रबार
रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालिन नगरप्रमुख गोपाल यादव भ्रष्टाचारमा दोषी ठहर भएका छन् । विषेश अदालतले मंगलबार प्रतिवादी बनाइएका २१ जनामध्ये मेयरलाई मात्र दोषी ठहर हुने फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपप्रमख, ५ वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरुलाई पनि प्रतिवादी बनाएको थियो। त्यसमा १८ जना जनप्रतिनिधि र ३ जना तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रहेका थिए।
गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका स्थित लाल बकैया नदीको ठेक्का फतुवा विजयपुरले गैरकानूनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्याएका आरोप लागेको थियो र आरोप लागे पछि अदालतले नगरप्रमुख यादवलाई निलम्बित समेत गरेको थियो । लालबकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहबरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुङ्गा गिट्टी र बालुवाको ठेक्का गर्ने तथा प्राप्त राजस्व फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत बाँडफाँड गर्ने निर्णय भएको थियो।
उनीहरुले २०७५ पुस १५ गते लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको निर्णय कार्यान्वयन नगराएको तथा वोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै संकलन गर्ने कार्य गरेको अख्तियारले जनाएको छ । एक करोड ५३ लाख ५० हजार एक सय ९९ हजार रुपैयाँ बिगो दावी गरिएको यस मुद्धामा श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले मेयरलाई मात्र दोषी ठहर गर्ने फैसला सुनाएको हो। भ्रस्टाचार मुदामा नगरप्रमुख यादव दोषी देखिए पनि अहिले सजाय निर्धारण हुन बाँकी रहेको छ । नगरप्रमुख यादव नेपाली कांग्रेसको तर्फ बाट दोश्रो कार्यकालको लागि नगरप्रमुख निर्वाचित भएका थिए यदपि उनि निलम्बित भए पनि नगरपालिकाको गाडी लगाएतका सेवा सुबिधा लिदैं आएका थिए ।