प्राइम खबर संबाददाता | असोज २१, २०८० आइतबार

रौतहटको बजारमा यतिबेला म्याद गुज्रेका उपभोग्य सामग्रीको बिक्री बढ्दो क्रममा रहेको छ । विभिन्नखाले भत्तामुखी नियमनकारी निकायले बजार अनुगमन नगरेका कारण बजारमा म्याद नाघेका र अखाद्यय पदार्थको बिक्रि बितरण भईरहेको हो ।


जिल्लाको चन्द्रनिगाहपुरमा अवस्थित जगत रिसोर्टमा  म्याद नाघेको बडवाईजर बियर उपभोक्ताले फेला पारेका छन् । शनिबार उपभोक्ताले सो रिसोर्टमा उक्त बियर फेला परेपछि यो तथ्य बाहिरिएको हो। केही साता अघि मुन ड्रपस् नामको पानीको बोतलमा अखाद्य पदार्थ भेटिएको थियो । पानी जस्तो संवेदनशील विषयमा भएको  उत्पादक कम्पनीको लापर्बाहीका बिरुद्द स्थानीयले आवाज उठाएका भएतापनि नियमनकारी निकाय र स्थानीय चन्द्रपुर नगर उद्योग वाणिज्य संघ घटना थाहा नपाए झै मौन बस्यो । बरु उल्टै सो घटनाको ढाकछोप र बचाउमा लाग्यो । दसैँ लगायतका चाडवाड नजिकिएसँगै बजारमा  म्याद नाघेका उपभोग्य सामग्री , पानीका बोतल,बियर,कोक,पेप्सी लगाएतका पेय पदार्थ बजारमा बिक्रि बितरण हुदै आएको भन्दै यतीबेला सामाजिक संजालमा तिब्र आलोचना भएको छ ।



चन्द्रपुर नगरपालिकाले समेत अनुगमनलाई खासै वास्ता नगर्दा उपभोक्ता ठगिँदै गएका त छदै छन् उनीहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने कुरालाई नकार्न सकिंदैन । उपभोक्ता हित मंच, नगरपालिका तथा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले बजार अनुगमन नगरेका कारण उपभोक्ताहरु अखाद्यय पदार्थ तथा म्याद गुज्रेका पेय पदार्थहरु किन्न बाध्य भएका हुन् ।