प्राइम खबर संबाददाता | चैत १३, २०७७ शुक्रबार

काठमाडौं  होली मनाउने नाममा सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई प्रशासनले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले सार्वजनिक रुपमा होलीको कार्यक्रम, कन्सर्ट वा डिजे जस्ता कार्यक्रमको आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले यसअघि नै कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । मन्त्रालयले भीडभाड गरेमा प्रहरीले कारवाही गर्ने र सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पनि पक्राउ गरेर कारवाही गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेको छ ।
गृहको निर्देशनमा स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्ने प्रहरीलाई निर्देशन छ । तर, कार्यक्रम नै आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–२०२० अनुसार कारवाही गरिने छ ।
संक्रामक रोग ऐन–२०२० अनुसार आदेश अवहेलना गरेमा एक महिना कैद र एकसय रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
होलीको समयमा भीडभाड हुन नदिन मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ समेत लागु गरेको प्रहरीले जनाएको छ ।