प्राइम खबर संबाददाता | असोज २५, २०८० बिहिबार

रौतहट धर्मशाला मासेर वडा कार्यालय बनाउन लागेको भन्दै चन्द्रपुर वडा नम्बर ६ का स्थानीय चिन्तित बनेका छन् । 
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित रहेको डाबरी चोकमा अवस्थित सर्वलिंगेश्वर महादेव मन्दिर परिसरमा रहेको धर्मशाला तोडफोड गर्दै वडा कार्यालय बनाउन खोजेको भन्दै स्थानीय धार्मिक अगुवाहरूले चिन्ता व्यक्त गरेका हुन् । 
अघिल्लो आर्थिक वर्षमा संघीय सांसद विकास कोष र चन्द्रपुर नगरपालिकाको आर्थिक लगानीमा निर्माण कार्य सम्पन्न भई हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको उक्त मन्दिर परिसरमा रहेको धर्मशालामा वडा नंबर ६ का अध्यक्ष सहदेव केसीले भित्री संरचना तोडफोड गर्न लगाई आफूखुशी वडा कार्यालय सार्न खोजेको वडा सदस्य सन्नी राउतले बताए । उनले यस विषयमा वडा सचिव एबम् नगर उपप्रमुख जयमाला चौधरीको समेत लिखित ध्यानाकर्षण गराएको बताए ।
उक्त धर्मशाला भवनमा रहेको भर्याङ, सौचालय लगायत पछिल्लो भाग भत्काएर क्षति पुर्याएको भन्दै सोही धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष बल बहादुर श्रेष्ठले दुःख व्यक्त गरेका छन् । वडा अध्यक्षको मनोमानी ढंगले भत्काउन लगाएको उक्त भवन जस्ताको त्यस्तै निर्माण गरी धर्मशाला नै कायम गरिनुपर्ने उनको तर्क रहेको छ । 
वडा कार्यालय सो स्थानमा सार्ने विषयमा वडा समितिको बैठकबाट समेत निर्णय नभएको अवस्थामा अध्यक्षको एकलौटी हुटहुटी एबम् हठले गरिएको काम तत्काल रोक्न नगर प्रमुख र उपप्रमुख समक्ष पटक पटक आग्रह गरिएको सोही वडाका अर्का वडा सदस्य करियोध चौधरी समेत बताउँछन् । सो धर्मशाला भत्काउने नाममा भएको क्षतिको सोधभर्ना गराउन स्थानिय समाजसेवी गोपाल प्रसाद चौलागाईले माग समेत गरेका छन् । अध्यक्ष केसीको निर्देशनमा उक्त धर्मशालामा रहेको शौचालय, भर्याड्ड लगायत पूर्बपट्टीको भाग भत्काईएको स्थानिय चौलागाईले बताएका छन् । 
उता वडा अध्यक्ष केसीले भने आफूले नगर कार्यपालिकाको निर्णय अनुसार नै सो स्थानमा वडा कार्यालय सार्न खोजिएको बताएका छन् । उनका अनुसार सो विषयमा वडाका स्थानीय राजनीतिक दलहरुसँग समेत समन्वय गरी सुझाव र सहमति अनुरुप नै वडा कार्यालय उक्त स्थानमा सार्न लागेको उनको दाबी रहेको छ । यद्धपी उनको दाबीलाई भने साबित गर्ने कुनै आधार नरहेको वडासदस्य चौधरीले बताउदै आएका छन् । जंगल रहेको स्थानमा वडा कार्यालय रहदा सुरक्षा एबम् सेवाग्राहीको सुबिधाको दृष्टिकोणले समेत असहज एबम् असुरक्षित हुने उनको भनाई रहेको छ ।