प्राइम खबर संबाददाता | पुस १९, २०८० बिहिबार
रौतहट प्रहरीले नक्कली नेपाली नोट सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको देवाही गोनाहि नगरपालिका–८ पटेल चोक नजिकबाट प्रहरीको टोलीले एकहजार दरको नोट थान १ हजार ८४३ अर्थात १८ लाख ४३ हजार नगद सहित पक्राउ गरेको हो ।
नक्कली नोटसहित गुजरा नगरपालिका वडा नं ५ हरिहरपुरका २५ बर्षका संदिप यादवलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नोट सहित यादवको साथबाट विभिन्न बैँकको एटिएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार यसअघि पनि गरुडा नगरपालिका वडा नं ५ स्थित शिवनगर मेलाबाट गत असार २१ गते १ सय दरको ४ थान नक्कली नोट सहित ४ जना, कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोट सहित ३ जना र मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नं १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिईन ।
पक्राउ परेका यादबलाई मुद्रा सम्बन्धि कसुर अन्तर्गत कानुनी कारवाही अघि बढाइएको प्रवक्ता गिरीले जानकारी दिईन ।