प्राइम खबर संबाददाता | माघ ६, २०८० शनिबार
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालय तोडफोड भएको छ । शनिवार कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट निर्वाचित स्ववियु सदस्यहरुले नै सभापति ओझाको कार्यालय तोडफोड गरेका हुन् । कार्यालय तोडफोडपछि उनीहरुले सभापति ओझाको राजीनामा समेत मागेका छन् । उनीहरुले ओझामाथि सभापति निर्वचित भए देखिनै कर्मचारी, प्राध्यापकहरुको सरुवा बढुवामा पैसा खाएर भागबन्डा मागेको, विश्वविद्यालयभित्र हुने निर्माणका कामहरु रोकेर निर्माण व्यवसायीसँग पैसा उठाएको, स्ववियुले गरेको आन्दोलनलाई सिमित प्राध्यापक र कर्मचारीको प्रभावमा परेर आन्दोलन नै समाप्त पारेको, प्रिन्सिपल र लेखासँगको मिलेमतोमा विश्वविद्यालयभित्रको माटो बेची खाएको आरोप लगाएका छन् । यता सभापति ओझाले कार्यालयका केही कुर्सीहरु ढालिए पनि तोडफोडै चाहिँ नभएको जिकिर गरे । उनले सो कार्य विभिन्न समूहले गरेको कुरा आए पनि कसले गरेको हो भन्ने यकिन नभएको बताए । उनले आफूमाथि विभिन्न आरोप लगाए पनि कुनै पनि समूहले आफूसँग छलफल नगरेको स्पष्ट पारेका छन् ।