प्राइम खबर संबाददाता | माघ २२, २०८० सोमबार

रौतहटका पत्रकार फणिदेव महत वीरेन्द्र साह क्रियासिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा रहेर लामो समयदेखि पत्रकारितामा आफ्नो अस्तित्व स्थापित गरेका महत प्रगतिशिल तथा श्रमजिवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा सोमबार एक कार्यक्रमकाबिच नगद पुरस्कारसहित सम्मानित भएका हुन् । संगठनले अग्रजहरूको सम्मान तथा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरी हरेक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न विधाको पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गरेको हो । बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल सम्मिलित समितिले सिफारिश गर्दै विभिन्न चरणमा बैठक गरी उक्त पुरस्कार छनोट गरेको हो । गठनले केन्द्र सहित सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूमा विभिन्न रचनात्मक कार्यक्रम गरी आज माघ २२ गते संगठनको २६ औँ स्थापना दिवस मनाएको हो । पत्रकार महतलाई कार्यक्रमका प्रमुख अथिति नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले  बीस हजार बीस रुपैयाँ नगद सहित सम्मान पत्रले सम्मान गरेका हुन् ।