प्राइम खबर संबाददाता | फागुन ४, २०८० शुक्रबार
७० हजार हाराहारीको संगठनमा सबै राम्रा र असल हुन्छन् भन्ने पनि छैन । त्यहि संगठनभित्र बाटै कसैले संगठन र देशको ईज्जत राख्ने काम गर्छन् भने कसैले संगठनलाई बदनाम नै बनाउँछन् । यस्तै संगठनलाई बदनाम गराउने क्रममा प्रहरीका विभिन्न तह र तप्काका व्यक्तिहरू नै परेका खबरहरु बेला बेलामा सुनिदै आएको छ।
हिजो मात्र दाङमा एक प्रहरीले आफ्नै प्रहरी श्रीमतीको गोली हानी हत्या गरे । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेको खबर बाहिरिएको थियो। विगतमा केही पैसाको लोभमा फस्दा प्रहरीका अधिकारी नै पक्राउ पर्दा ती अधिकारीको संगठनभित्र मात्र नभए सामाजिक रूपमा पनि तिरस्कृत हुने समय सिर्जना भयो । यो त एक उदाहारण मात्र हो यस्ता प्रहरी संगठनमा धेरै छन् जसको कारण प्रहरीको जनमासमा बदनाम हुदै गएको छ, जसको साख नेपाल प्रहरीका केही प्रहरी अधिकृतहरुले जोगाएका पनि छन् ।
प्रसङ्ग हो – जिल्ला प्रहरी कार्यालय रौतहट माताहत प्रहरीको । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहत रहेको अस्थायी प्रहरी पोष्ट तल्लो बजार, रौतहट पोष्टका प्रहरीले सर्वसाधारणलाई अनावश्यक दुःख दिएर पैसा असुल्न थालेको स्थानीयले गुनासो गरेका छन् ।
तल्लो बजार अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सुरेश सहनीले सर्वसाधारणलाई दुःख दिन थालेका हुन् । गौरबाट आउने बसलाई मोथियाहि पुल नजिक रोकेर मालसामान चेकजाँचको बहानामा रकम असुलेर दुःख दिएको पीडितहरुले बताएका छन् । अघिल्लो सोमबार भारतको सीमावर्ती बजार बैरगनियाबाट घरायसी किराना सामग्री बोकेर बस मार्फत घर आउँदै गरेका चन्द्रपुरका महिलाहरुलाई असई सहनीले दुई हजार र तीन हजारको दरले मोथीयाही पुल नजिक बस रोकेर पैसा असुलेपछि यो घटना बाहिरेको हो । असई सहनीले रकम असुल गर्दै घरेलु मदिराको समेत लाइन खुल्ला गर्ने गरेको चर्चा परिचर्चा चन्द्रनिगाहपुर बजार आसपासमा चलिरहेको बेला गौरबाट चन्द्रनिगाहपुर आउने स्थानीय यात्रुलाई देउराली चोक र मोथीयाही पुल नजिक चेकिङको नाममा असुली धन्दा चलाउदै दुःख दिने गरेको स्रोत बाताउँछ । चन्द्रनिगाहपुरबाट दक्षिण तर्फ जाने बसमा घरेलु मदिरा दिनहुँजसो जाने गरेको भएपनि त्यहाँका प्रहरी मुकदर्शक बन्ने गरेका छन् । बरामद घरेलु मदिरा समेत पैसा दिए छाड्ने गरेको स्थानीयको गुनासो छ ।
"किरानाको सामग्री बोकेर आउँदै गर्दा मोतियाही पुल नजिक रोकेर असई साबले पैसा माग्नु भो पाँच हजारबाट सुरु भएको बार्गेनिङ तीनहजारमा गएर टुंगिएपछि आफू सँग बजारबाट फर्किदा बचेको दुईहजार तिरेर समान लिएर घर आए ।" " हामी जस्तो गरीबले सस्तो पाउने हुँदा पारीबाट १० देखि १५ हजारको समान ल्याउँदा यहीको प्रहरीलाई हजारौं बुझाउनु पर्छ।" आफ्नो नाम नबताउने सर्तमा ती महिलाले वृत्तान्त सुनाइन्।
तल्लो बजार पोस्टमा असई सहनी आएको बिगत एक महिना देखि यस्तो अबैध धन्दा सुरू गरेको स्रोतले बताएको छ । एसपीको सरुवाको हल्लासँगै उनिहरूको अवैध धन्दा फस्टाएको चर्चा प्रहरीमा छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी गौरव महत तालिममा रहेका छन । महत तालिममा रहेका मौकामा असई सहनीको असुली धन्दा झन् चल्दै गएको श्रोतको दावी रहेको छ।