प्राइम खबर संबाददाता | फागुन १०, २०८० बिहिबार

रौतहटको चन्द्रपुर नगरपालिकाले राजमार्ग क्षेत्रमा सुरक्षाको लागि तीन स्थानमा जडान गरिएका  सिसि क्यामेरा गुणस्तरहिन रहेको पाईएको छ । नगरपालिकाको कर्मचारी समेतको मिलोमतोमा आर.आर एन्फोसिस चन्द्रनिगाहपुरका संचालक रिजन अधिकारीले २४ लाख रुपैयामा सिसि क्यामेरा जडान गरेको बुझिएको छ । चन्द्रपुर नगरपालिकाका आ.ई.टी अफिसर राजेश सागर र इन्जिनियर भरत श्रीवास्तवको मिलोमतोमा रकमी चलखेलका आधारमा एउटै व्राण्डको कम्पनी हिक भिजनलाई पर्ने गरी टेण्डर आह्वान गरेको थियो । टेण्डर आह्वान गर्दा १० वटामा फर्म विक्रि भएता पनि बोलकबोलमा तिन वटा फर्म मात्र सहभागी भएको र हिक भिजन कम्पनीसंग मिल्ने गरी रकम खुलाएका कारण मिलोमतो भएको आशंका गरिएको छ । नगरपालिकाका कर्मचारी र संचालक अधिकारीसंग रकमी चलखेल गरेको र सोहि आधारमा टेण्डर परेको स्थानीय बजारमा चर्चा सुरु भएको छ । सिसि क्यामेरा जडान भएदेखि मर्मतको नाममा रकम छुट्टिएको र पालिकाका कर्मचारीको समेत भागवण्डा मिलाएको आरोप लागेको छ । नगरपालिकाले सो मुल्यमा खरिद गरेको सिसि क्यामेरा तोकिएको मापदण्ड अनुसार नभएको स्थानियले दावी गरेका छन् । चन्द्रपुर नगरपालिकाले २४ लाख रुपैयामा राखेको सो सिसि क्यामेराको बजार मुल्याङ्कन १५ लाख रुपैया पर्ने बताईएको छ । यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी समेत परेकाले चासो पुर्वक लिएको बुझिएको छ । अख्तियारले नगरपालिकालाई पत्र काटेर यथेष्ट विवरण पठाउन भनेको जनाईएको छ । जडान गरिएको सिसि क्यामेरा नाईटभिजन हुनु पर्ने हो , तर नाईटभिजन भनेर क्यामेरा नजिकमा बति जडान गरिएको छ । चन्द्रपुर नगरपालिकाले पूर्व पश्चिम राजमार्गको आँप गाछी नजिक र जुडिवेलामा प्रबेशद्धार नजिकमा सिसि क्यामेरा जडान गरिएको छ । यसैगरी चन्द्रपुर गौर सडक खण्डको घोडदेवी मन्दिर नजिकमा पनि सिसि क्यामेरा जडान भएको हो । आर.आर एन्फोसिसले सिसि क्यामेरा आफुले नै जडान गर्न पाउने गरी पालिकका कर्मचारीलाई मिलाएर गुणस्तरहिन काम गरेपछि अख्तियार सम्म उजुरी पुगेको समाचार स्रोतले बताएको छ । सिसि क्यामेराका बारेमा अख्तियारले चासो लिएकाले अनुसन्धानपछि बास्तविकता खुल्ने विश्वास गरिएको भएतापनि यस अघि पनि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा समेत जडान गरेको सिसि क्यामेरामा पनि समस्या आएको बताईएको छ । यहाँका अधिंकाश नगरपालिकामा आर.आर. एन्फोसिसले काम गरेपनि प्राय सवै पालिकाको काम मिलोमतोमा नै भएको आशंका गरिएको छ । बाराको कोल्वी नगरपालिकामा सिसि क्यामेरा गुणस्तरहिन भएको आरोप आर.आर एन्फोसिस चन्द्रनिगाहपुरका संचालक रिजन अधिकारीलाई लागेको छ । सवै पालिकामा मिलोमतो गरेर अधिकारीले सिसि क्यामेरा सप्लार्यस गर्ने तर जडान गरेको क्यामेराले अपेक्षानुसारको काम नगर्ने गरेको गुनासो सर्वत्र छ ।