एजेन्सी | फागुन २०, २०८० आइतबार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पनि उत्तरप्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लोक सभा चुनाव लड्ने भएका छन् । ५४३ सदस्यीय लोक सभा सदस्य चयनक लागि भारतमा यो वर्ष चुनाव हुँदै छ । भारतीय जनता पार्टी बीजेपीले शनिबार १९५ सिटका उम्मेदवार सार्वजनिक गर्दै मोदीले वाराणसीबाट चुनाव लड्ने घोषणा गरेको हो ।
मोदीले यसअघि सन् २०१४ र २०१९ को लोक सभा चुनाव पनि वाराणसीबाटै जितेका थिए । उनीअघि यो क्षेत्रबाट बीजेपी नेता मुरली मनोहर जोशीले चुनाव जित्दै आएका थिए । सन् २०१४ मा पहिलो पल्ट लोक सभा चुनाव लडेका मोदीले त्यतिबेला आम आद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई हराएका थिए । सन् २०१४ मा ५६।३६ प्रतिशत मत पाएका मोदीले सन् २०१९ मा ६३।६२ प्रतिशत मत पाएका थिए ।सन् २०१९ मा यहाँ कांग्रेस आई र समाजवादी पार्टी पनि मोदीसँग चुनाव लडेका थिए । तर यसपालिको चुनावमा समाजवादी पार्टीले वाराणसी निर्वाचन क्षेत्रमा कांग्रेस आईका उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेको छ ।