न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने बताएका छन् । अहिले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसैमा आफूलाई केन्द्रित गर्ने बताए ।


‘म पहिलोपटक आउँदा पनि समस्या थियो । त्यसबेला राम्रो सुधार गरेको थिएँ । अहिले अर्थतन्त्र त्यति बिग्रेको छैन । तर मनोबल बढाउनु पर्नेछ, मेरो प्रयास त्यही रहन्छ,’ उनले  भने । बिगतको अनुभवका आधारमा सक्दो राम्रो गर्ने प्रयास गर्ने उनको भनाइ थियो । ‘असल कामलाई निरन्तरता दिन्छु, विगतमा विकासे मन्त्रालयमा काम गरेको थिएँ,’ उनले भने, ‘ खर्च गर्ने क्षमता बढाउनु छ । काम गर्दै र समीक्षा गर्दै कमजोरी सुधारमा लाग्छौ ।’



सो अवसरमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले अर्थमन्त्रीलाई कर्मचारीको पूर्ण सहयोग हुने बताए । ‘अर्थतन्त्र धेरै कुरामा सुधारोन्मुख रहे पनि केही दबाबमा छ,’ उनले भने । पुँजीगत खर्च र राजस्व परिचालन समस्या रहेको उनले बताए । नयाँ अर्थमन्त्रीको नेतृत्वमा अर्थतन्त्रका समस्या समाधान हुने विश्वास पनि उनले व्यक्त गरे ।