न्यूज डेस्क | बैशाख २८, २०८१ शुक्रबार

रौतहटको चन्द्रनिगाहपुरमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकसँग बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


मनकामना अस्पताल प्रा.लि भरतपुर चितवनको आयोजनामा शुक्रबार चन्द्रनिगाहपुर ४ स्थित रहेको गोल्डेन बैँक्युटमा एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी सहित रौतहटका अधिकांश पालिका र संघ संस्थाका  एम्बुलेन्स चालकहरुको बाक्लो उपस्थिति रहेको थियो ।



चितवनको भरतपुर महानगरपालिका वडा नं १० स्थित रहेको मनकामना अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिलीप घिमिरेको प्रमुख आतिथ्यतामा भएको अन्तर्क्रिया कार्यक्रममा सो अस्पतालका डाक्टर मनोज क्षेत्री र सतीश ढकालले प्राथमिक उपचार बारे प्रशिक्षण दिएका थिए। दुर्घटनाका घाइतेहरूलाई एम्बुलेन्समा राख्दा अपाउनाउनु पर्ने सावधानी, सुरक्षा र प्राथमिक उपचारको विधि र प्रक्रिया बारे कार्यक्रममा सहभागीहरूलाई चिकित्सकले जानकारी गराएका थिए।



भरतपुरमा रहेर विशेष सुविधासहित सुलभ तरिकाले आधुनिक प्रविधिको प्रयोग गरेर उपचार गर्दै आएको मनकामना अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने जिल्लाको एक मात्र निजी अस्पतालको रूपमा रहेको हुँदा त्यसबाट लाभ लिन समेत मनकामना अस्पतालका कार्यक्रम संयोजक रमेश पाण्डेले बताएका छन्।

चन्द्रनिगाहपुरमा रहेको सिविल हुमन हस्पिटल एण्ड रिसर्च सेन्टर र संयुक्त एम्बुलेन्स चालक संघ रौतहटको सह आयोजनामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा सहभागी भएर धेरै विषयवस्तुको ज्ञान प्राप्त गर्न पाउँदा खुशीको महसुस भएको कार्यक्रममा सहभागी रौतहटका एम्बुलेन्स चालक मुकेश साहले बताए ।

कार्यक्रममा बाल निकेतन आवासीय माविका छात्राहरुले उत्कृष्ट नृत्य गर्दै कार्यक्रममा सहभागीलाई थप उर्जा समेत प्रदान गरेका थिए। कार्यक्रमका विशिष्ट अथिती रौतहट जिल्ला एम्बुलेन्स चालक संघका अध्यक्ष लालबाबु सर्राफले एम्बुलेन्स चालकले अनिवार्य रुपमा प्राथमिक उपचारको तालिम लिनुपर्ने आवश्यकता रहेको औंलाए । एम्बुलेन्स चालक र अस्पताल बीच नङ र मासुको सम्बन्ध हुने हुँदा पहिलो उपचार एम्बुलेन्स नै भएको समेत उनले बताए।

कार्यक्रमका सभाध्यक्ष सिविल हुमन अस्पताल एण्ड रिसर्च सेन्टरका सञ्चालक राजन साहले सिविल अस्पतालले विभिन्न जनचेतनामूलक कार्यक्रम सहित बिरामीहरूको सेवामा विभिन्न प्रकारका प्याकेजहरू समेत समावेश गर्दै आएको बताए। कार्यक्रममा सिविल अस्पतालले कार्यक्रममा सहभागीलाई मायाको चिनो स्वरूप हेण्ड ब्याग समेत प्रदान गरेको थियो ।

सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले मनकामना अस्पातलले देशकै मध्यविन्दुमा रहेर विभिन्न प्रकारका स्वास्थ्य सुविधाहरु सहुलियत दरमा प्रदान गर्दै आएको बताए । आफ्नै स्वामित्वमा रहेको अस्पतालको भवनमा भरतपुर विमानस्थलको ठीक अगाडि पट्टी रहेको बताए । अस्पतालले विपन्न वर्गका नागरिकहरुको लागि समेत सेवामा केही प्रतिशत छुट दिने समेत बताए ।

कार्यक्रममा सिविल हुमन अस्पताल एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुर र मनकामना अस्पताल प्रा ली भरतपुर बीच आपसमा सम्झौता समेत भएको छ। बिरामीहरुको उपचारका लागि सिविल अस्पतालको सिफारिशमा निश्चित प्रतिशत छुट दिने, र मनकामना अस्पतालको सिफारिशमा सिविल अस्पतालले केही निश्चित प्रतिशत छुट दिनेगरी दोहोरो सम्झौता पत्रमा हस्ताक्षर भएको सिविल अस्पतालका संचालक राजन साहले बताए।

कार्यक्रममा बाल निकेतन माविका प्रधानाध्यापक दीपक रेग्मी, सर्लाही संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष देव लामा, मुकेश कुमार गुप्ता लगायतका आतिथ्यता रहेको उक्त कार्यक्रम चर्चित उद्घोषक नेक मोहमदले सञ्चालन गरेका थिए।