न्यूज डेस्क | जेठ ६, २०८१ आइतबार

 नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।


प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १८ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेको हो । उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए ।




उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।




घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका, खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो ।