न्यूज डेस्क | असार २१, २०८१ बिहिबार

रौतहट । नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस इकाई समितिले विद्यार्थी हकहित र विद्यार्थीका मुद्दाहरु र क्याम्पसमा रहेका समस्याहरु समाधानको लागि विभिन्न  मागहरु राखी ज्ञापनपत्र बुझाएको छ। 


नेविसंघ जनज्योति क्याम्पसका एकाई सभापति भीमराज अधिकारी सुशीलको नेतृत्वमा गएको टोलीले बिहीबार क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्पराज महतरा मार्फत क्याम्पसको सर्वाङ्गीण विकासका लागि विभिन्न मागहरु राखी ज्ञापन पत्र पेश गरेको नेपाल विद्यार्थी संघका विद्यार्थी नेता संदीप मैनालीले बताए । 



सभापति अधिकारीले विभिन्न कालखण्डमा क्याम्पसमा शैक्षिक गुणस्तर र  क्याम्पसको शैक्षिक एबम् भौतिक विकाशमा नेपाल विद्यार्थी संघले खेल्दै आएको भूमिका र विद्यार्थी आन्दोलनको मर्म बुझ्न समेत चेतावनी दिएका छन्। उनले  विद्यार्थीहरूले भोग्दै आउनुपरेको समस्यामा नेविसंघले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको समेत स्मरण गराएका छन्।  



 

क्याम्पस प्रशासन समक्ष १६ बुँदे माग प्रस्तुत गर्दै बिद्यार्थीका हरेक मुद्दाहरुमा लड्दै आएको र विद्यार्थी हक हितको लागि काम गर्दै आएको नेपाल विद्यार्थी संघले उठाएको मागहरुको  यथासिघ्र कार्यान्वयन गर्न आग्रह समेत गरेको छ। आफू हरुले उठाएका विद्यार्थीका माग  र मुद्दा लाई बेवास्ता गरे नेपाल विद्यार्थी संघले थप आन्दोलन को कार्यक्रम लाई अगाडी बढाउने समेत सभापति अधिकारीले चेतावनी दिएका छन् । 

विज्ञप्तिमा भनिएको छ “नेपाल विद्यार्थी संघ समग्र विद्यार्थीको हकहितका निमित्त आवाज उठाउदै आएको कुरा सर्वविदितै छ । जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर, रौतहटमा विगतदेखि वर्तमानसम्म अनवरत रुपमा क्याम्पसको सर्वाङ्गीण विकासमा कार्य गर्दै आइरहेको कुरा अवगतै छ । विगत लामो समयदेखि क्याम्पसमा रहेका विविध समस्याहरुको समाधानका निमित्त उल्लेखित मागहरु सहित यो ज्ञापन पत्र पेश गर्दछौं ।

यथासिघ्घ्र माग सम्बोधन नभए उत्पन्न हुने प्रतिकुल परिस्थितीको जिम्मेवार क्याम्पस प्रशासन रहनेछ ।“

तपसिल

१. पूर्ण छात्रवृति सहित त्रि.वि नियमानुसार शुल्क समायोजन हुनुपर्ने ।

२. यातायातको व्यवस्था गर्नुपर्ने ।

३. विधान विपरित नियुक्ति भएका सम्पूर्ण शिक्षक तथा कर्मचारीको छानविन गरि दोषी उपर कारवाही गर्ने ।

४. पूर्णकालिन रहेका शिक्षक कर्मचारीहरुले अन्यत्र संघसंस्थामा काम गर्न नपाउने भन्ने क्याम्पस संचालक समितिको निर्णय भएतापनि सोको कार्यान्वयन नभएकोले सो सँग सम्बन्धित सम्पूर्णलाई छानविनको दायरामा ल्याउनु पर्ने ।

५. क्याम्पस परिसरमा व्यवस्थित चमेना गृहको व्यवस्था हुनुपर्ने ।

६.व्यवस्थित पुस्तकालय निर्माणको साथै २४ घण्टा पुस्तकालय खुल्ला गरिनु पर्ने ।

  ७. क्याम्पस सभा हलको तत्काल निमार्ण गर्नुपर्ने ।

  ८. प्राविधिक शिक्षा जस्ता नयाँ कार्यक्रमहरु ल्याउन पहल गर्ने ।

  ९. क्याम्पसमा कार्यरत पूर्णकालिन शिक्षकलाई मात्र प्रमुख जिम्मेवारी प्रदान गर्नुपर्ने ।

 १०. विभागिय कारवाही भएका उप-प्राध्यापकलाई के कसरी कुन मापदण्ड टेकी संकाय प्रमुख जस्तो गरिमामय पदमा नियुक्ति भएकोले छानविन हुनुपर्ने ।

११. क्याम्पसमा रिक्त रहेको विभिन्न उप प्रध्यापकहरुको पदपुर्ति गर्नुपर्ने ।

१२. समेष्टर प्रणाली अन्तर्गत रहेको एम.ए. र एम.बि.एस तहको कुन प्रक्रियालाई टेकेर प्राध्यापकको तलब भत्ता र विद्यार्थीको हाजिरी प्रमाणित के कसरी गरिएको हो सो को जानकारी माग गर्ने ।

१३. क्याम्पसमा खरिद प्रक्रियालाई सार्वजनिक खरिद ऐन बमोजिम व्यवस्थित गर्नुपर्ने ।

 १४. क्याम्पसको आर्थिक प्रशासन देखि लिएर शैक्षिक प्रशासनलाई नियमावली बनाएर व्यवस्थित

१५. क्याम्पस परिसरको पश्चिम तर्फ रहेका अव्यवस्थित बसोबासलाई सरोकारवाला निकायसँग आवश्यक पहल गरी उचित व्यवस्थापन पश्चात त्यस स्थानमा छात्रवासको निर्माण गर्नुपर्ने ।

१६. एम.एड र बि.एस्सी कक्षाहरुका लागि तुरुन्त पहल गर्नुपर्ने । लगायतका मागहरु राखेर नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस ईकाईले ज्ञापन पत्र बुझाएको हो।