न्यूज डेस्क | असार २९, २०८१ शुक्रबार

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५  जना रहेका  चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । 


यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको हो। 



प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उनले भने, 'हामी घटनास्थलमा छौँ । निरन्तर पानी परिरहेको  छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।'  उनले ती बसमा रहेका यात्रुको  यकिन विवरण भने प्राप्त भइनसकेको बताए।