न्यूज डेस्क | असार २९, २०८१ शुक्रबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् ।
शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले दाबी पेश गरेका हुन् ।


ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरे ।
राष्ट्रिपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर आज नै आव्हान गरेका थिए ।
प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्  ।
नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ समीकरणमा सहमति बनेसँगै प्रचण्डले संविधानको धारा १०० को उपधारा–२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए । प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल भए ।



प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित सांसद २५८ जना थिए । प्रचण्डले मागेको विश्वासको मतको पक्षमा ६३ मत र हुन्न भन्ने पक्षमा १९४ मत परेको थियो । भने मत दिन्न भन्ने पक्षमा १ मत थियो ।