न्यूज डेस्क | असार ३२, २०८१ सोमबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकै दिन निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।


निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । साउन १ गतेदेखि अर्थात आज राति १२ बजेपछि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बृद्धि गरेको छ ।



यससँगै अब तेस्रो वर्गअन्तर्गत पर्ने पोखरा, काठमाडौँ र दिपायलमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ । यसैगरी पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेल १५७ रुपैयाँ पर्नेछ ।



त्यस्तै, दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १५९ रुपैयाँ पुगेको छ ।