न्यूज डेस्क | साउन ४, २०८१ शुक्रबार

रौतहट। चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रवि रानामगर अहिले चर्चाको पात्र बनेका छन्। अघिल्लो आर्थिक वर्षमा वडाको विकास समग्र विकासमा निकै राम्रो काम गरेर वाही वाही कमाएका उनले आगामी आर्थिक वर्ष ०८१/८२ को वडा स्तरीय योजनामा सबै क्षेत्रलाई समेटेर बजेट निर्माण गरिएको भन्दै उनको चौतर्फी प्रशंसा हुँदै आएको छ।


उनले लक्षित वर्गलाई उच्च प्राथमिकता दिँदै वडाको बजेटमा स्थान दिएका छन्। उनले कृषि, पशुपन्छी, महिला, दलित, आदिवासी जनजाति, अपाङ्ग, बालबालिका, जेष्ठ नागरिक तथा युवा वर्गको लागि समेत समेटेर विभिन्न लक्षित वर्गको लागि कार्यक्रमहरु वडाको बजेट सिलिङमा समावेश गरेका छन्। 



वडा नं ४ ले आफूहरुलाई पनि स्थान दिएको भन्दै त्यहाँका लक्षित वर्गका नागरिकहरु समेत सन्तुष्ट देखिन्छन् । सामाजिक विकास संगसंगै भौतिक निर्माणका लागि समेत अध्यक्ष रानामगर निकै  सक्रिय देखिन्छन्।  चन्द्रपुर नगरपालिकाको मुख्य बजार रहेको उक्त वडामा बढ्दो सहरीकरण, बसाइँसराइ, फोहर मैला व्यवस्थापन र विपद् व्यवस्थापनको लागि समेत मध्यनजर गर्दै उनले विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको बताएका छन्। 



दूरसंचार जाने बाटो लामो समयदेखि नाजुक अबस्थामा रहेको बेला धेरै नेताको मुख ताकेर बस्दा जनताले दुःख सास्ती बेहोर्नु परेको थियो । उक्त सडक निर्माणको लागि ठूला भनाउदा नेताहरुले समेत बेवास्ता गरेपछि वडा अध्यक्ष रानामगरको सक्रियतामा उक्त सडकमा नाला सहितको ढलान भएपछि त्यहाँ आवागमनमा निकै सहज बनेको भन्दै स्थानीय समेत खुसी भएका हुन्। 

उनी भन्छन " विकास निर्माणको कामलाई उच्च प्राथमिकताका साथ वडाले हेरिरहेको छ, आवश्यक र स्थानीयको मागलाई मध्यनजर गर्दै हामीले योजना छनौट गरेका छौ, वडा कुनै टोल विशेषको हुन सक्दैन वडा नं ४ ले समग्र वडाभरीको टोललाई प्रतिनिधित्व गर्ने हुँदा कुनै टोल विशेषका मान्छेलाई चित्त नबुझ्न नी सक्छ तर वडाले सबै टोल सबै समुदायको मानिसलाई एउटै नजरले हेर्छ।"

चन्द्रपुर नगरपालिकाका १० वटा वडा रहेका मध्य वडा नंबर ४ ले जसरी पारदर्शी रूपले कार्य गर्न र सबै क्षेत्र समेट्ने गरी बजेट विनियोजन गर्न सकेको खण्डमा नगरको समुचित विकाशको लागि कोशे ढुङ्गा हुने स्थानीय जगनाथ अधिकारी बताउँछन् ।