न्यूज डेस्क | साउन ४, २०८१ शुक्रबार

एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा  नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। शुक्रबार श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’ मा एसिया कपमा नेपालले पहिलो जित निकालेको हो। यसअघिका दुई संस्करणमा नेपाल सबै खेलमा पराजित भएको थियो। 


शुक्रबार युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६।१ ‌ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।  नेपालको जितमा ओपनर सम्झना खड्काले अर्धशतक प्रहार गरिन्। उनले ४५ बलमा नटआउट ७२ रन जोडिन्। सम्झनाले ११ चौका प्रहार गरिन्। सम्झनाको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो। पूजा महतो ७ रनमा नटआउट रहिन्।



अर्की ओपनर सीता रानामगर ७ रनमा आउँदा कविता कुँवरले २ रन मात्र जोड्न सकिन्। कप्तान इन्दू वर्मा ६ रनमा आउट हुँदा रुबिना क्षेत्री १० रनमा बोल्ड भइन्। 



बलिङमा युएईकी कविशाले ३ विकेट लिइन्। त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन जोड्यो।

युएईका लागि खुसी शर्माले सबैभन्दा बढी ३६ रन बनाइन्। नेपालकी कप्तान इन्दू वर्माबाट क्याच हुनुअघि उनले ३९ बलमा २ चौका प्रहार गरिन्।


त्यसअघि नेपालले युएईकी ओपनर तथा कप्तान इशा ‌ओजालाई दोस्रो ‌ओभरमा १० रनमा रनआउट गरेको थियो। अर्की ओपनर तिर्था सतिथलाई नेपालकी कप्तान इन्दू वर्माले आउट गरिन्। 

त्यसअघि सबनम राईले रिनथा रजितलाई ६ रनमा पेभिलियन फर्काएकी थिइन्। सामिरालाई कप्तान इन्दूले १३ रन र किभिसालाई कृतिका मरासिनीले २२ रनमा आउट गरे।

बलिङमा कप्तान इन्दूले ३ विकेट लिइन्। उनले ४ ओभरमा १९ रन खर्चिइन्। सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १(१ विकेट लिए। नेपालले युएईका दुई ब्याटरलाई रनआउट गर्‍यो।

अब नेपालले दोस्रो खेलमा पाकिस्तानसँग आइतबार प्रतिस्पर्धा गर्नेछ।