न्यूज डेस्क | साउन ८, २०८१ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो सदनलाई भ्रम छर्ने गरी अभिव्यक्ति दिएका छन् । सरकारमा हुँदा कामभन्दा बढि स्टन्ट गर्ने रवि लामिछानेले सदनमा झुटो अभिव्यक्ति दिएर भ्रमको खेति गरेका हुन् । उपप्रधान एवं गृहमन्त्री हुँदा फाइल खोल्ने धम्की दिएर चर्चामा आएका तर कामका नाममा सिन्को नभाचेका रवि लामिछाने फेरि स्टन्टकै बाटोमा लागेका हुन् । संसदको चौथो ठूलो दल र राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेको व्यक्तिले सदनमा दिएको भुटो अभिव्यक्तिले उनी कतिसम्म गैरजिम्मेवार रहेछन् भन्ने पुष्टि भएको छ ।


जनताले दुख गरेर जम्मा गरेको अरवौं रकम हिनामिना गरेको प्रकरणमा उनीमाथि संसदीय छानविन भइरहेको छ । तीन महिनाको समय पाएको संसदीय छानविन समितिको अब दुई महिना बाँकी छ । नेताहरुले उनीप्रति दया माया देखाएनन् भने उनी जेल जाने निश्चित छ । रवि लामिछाने प्रत्यक्ष रुपमा सहकारीको रकम घोटाला प्रकरणमा संलग्न भएका दर्जनौं प्रमाण छन् । गृहमन्त्री बनेर ति प्रमाणहरु नष्ट गर्न सक्रिय भएका उनी यतिबेला प्रतिपक्षी बेञ्चमा पुगेका छन् ।



प्रहरीलाई प्रभाव र दवावमा पारेर सहकारीको अनुसन्धानलाई प्रभावित पार्न पूरै कार्यकाल बिताएका रवि लामिछाने अब आफू जेल जाने निश्चित भएपछि अरुमाथि प्रश्न उठाएर विषयान्तर गर्न खोजिरहेकाछन् । ताकि उनीमाथि सरकारले प्रतिशोध साँधेको अर्थ लागोस् भन्ने सोचेरै उनी जिम्मेवार थलो सदनबाटै भ्रमको खेति गरिरहेका छन् ।



सरकारमा हुँदा कहिले कांग्रेसका शीर्ष नेताहरुसँग हारगुहार गरेर, अनि कहिले बालकोटदेखि बालुवाटार पुगेर सहयोगको याचना गर्ने रवि लामिछानेले आफ्ना कर्तुतहरुको फर्दाफास हुने निश्चित भएपछि अत्तालिएका हुन् । जसको अभिव्यक्ति उनले आइतबार सदनमा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्टन्ट गर्नेभन्दा व्यवहारबाट काम गरेर आफूले पुष्टि गर्ने बताएपछि रवि लामिछानेले केही नेताहरुका विषयमा गम्भीर आरोप लगाए, जुन सरासर झुटबाहेक अरु केहि होइनन् । उनले कांग्रेस सांसद एवं प्रतिष्ठित उद्योगपति विनोद चौधरी हाजिरी जमानी छुटेको भनेर सदनमा गलत अभिव्यक्ति दिए । बाँसबाँरी घटनामा सांसद चौधरीमाथि सत्ताको दुरुपयोग गरेर रविले बयान गर्न लगाएर स्टन्ट गराएका थिए । चर्चामा आउन उनले विनोद चौधरीको बयान लिन प्रहरीलाई दवाव दिएका थिए तर चौधरी पक्राउ परेर हाजीरी जमानी छुटेको भनेर सदनमा जुन गलत अभिव्यक्ति दिए, यो उनको अर्को स्टन्ट बाहेक केहि होइन ।

त्यसको एक सातापछि पनि सरकार केहि हुँदैन, सरकार ढल्ने कुरा हल्लामात्रै हो भनेर सार्वजनिक अभिव्यक्ति दिएका रवि लामिछाने अहिले भने भ्रम फैलाइरहेका छन् । भुटानी शरणार्थी प्रकरण होस् वा अन्य, सरकारमा हुँदा बोलेरै कार्यकाल बिताएका रविले अहिले प्रतिपक्षी बेञ्चमा पुगेर जे जस्तो दावी गरेपनि जनताले भने पत्याउनेवाला छैनन् । बरु उनी आफै छिट्टै जेल जाने दिन पर्खेर बस्नुको विकल्प छैन । सरकारमा सहभागी भएर काम गर्न नसकेको र स्टन्ट मात्रै गरेको भनेर उनकै पार्टीका महामन्त्री मुकुल ढकालले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । सहकारी प्रकरणदेखि दोहोरो नागरिकता र पासपोर्ट प्रकरणमा रवि लामिछानेमाथि निष्पक्ष छानविन हुनुपर्ने माग उनकै पार्टीभित्रबाट उठेको छ ।