न्यूज डेस्क | साउन ८, २०८१ मंगलबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मङ्गलवार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


लामाले आजै काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शर्माले बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।



नुवाकोटका लामा पहिलो पटक मुख्यमन्त्री भएका हुन् । उनको बुधवार प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ । लामाले बुधवार काँग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । एमालेले मन्त्रीको टुङ्गो लगाइसकेको छ भने काँग्रेसमा आकाङ्क्षी धेरै भएकाले मन्त्री छनोटमा समस्या देखिएको छ । काँग्रेसका मन्त्रीहरूको नाम बुधवार बिहानसम्म टुङ्गो लगाउने तयारी छ ।