न्यूज डेस्क | साउन ११, २०८१ शुक्रबार

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो । 
ज्यान जानेहरूमा १८ वर्षकी सिता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङ रहेको घटना स्थलमै रहेका गोकुलगंगा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जनकारी दिए । वडाध्यक्ष सुनुवारका अनुसार तीनै जना किशोरीहरू दिउँसो खेतमा काम गरेर फर्केपछि साँझमा नुहाएर घरमा आराम गरेर बसेको बेला आएको पहिरोले उनीहरूलाई पुरेको हो ।
लगातारको वर्षाले घरको कुलेसो तर्फबाट झरेको पहिरोले घरको भित्तोमा क्षति पुर्याउने गरी आएको र उक्त घरमा रहेका तीन जनालाई पुरेको जनकारी पाउन साथ स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भए पनि घर भित्र पुरिएकालाई जीवितै उद्धार गर्न नसकिएको वडाध्यक्ष सुनुवारले बताए । पहिरोमा पुरिएका तीन जना किशोरीहरूको लास निकालिसकिएको पनि वडाध्यक्षले बताए । पहिरोमा पुरिएर ज्यान जाने किशोरीहरु छुट्टा छुट्टै परिवारका सदस्य रहेको वडाध्यक्ष चन्द्र सुनुवारुले बताए ।
घटनाको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिक कुमार सिं सहितको टोली घटना स्थल तर्फ गएको भए पनि लगातारको वर्षाको कारणले गर्दा खिम्तीबाट टोली अगाडि बढ्न सकेको थिएन । पहिरोमा पुरिएका तीन जनालाई उद्धारमा बेताली प्रहरी चौकीका प्रहरीहरु र स्थानीय सहयोग पुर्‍याएक थिए ।