न्यूज डेस्क | साउन ११, २०८१ शुक्रबार

चन्द्रनिगाहपुर स्थित जनज्योति बहुमुखी क्याम्पसमा शैक्षिक वातावरण खल्बल्याउने गतिविधि बढ्दै गएको भन्दै अभिभावक हरुले चिन्ता व्यक्त गरेका छन्।


नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु पछिल्लो समय उत्सृङ्खल गतिविधिमा सक्रिय रहेको सोही क्याम्पसमा रहेका अन्य विद्यार्थी संगठनका नेताहरुले समेत बताउँदै आएका छन् । 



क्याम्पसले शैक्षिक र भौतिक विकाशमा प्रगति गर्दै क्याम्पसको आर्थिक स्तर समेत सुधार्दै लगेको अवस्थामा व्यवस्थापन समिति र क्याम्पस प्रशासन लाई असफल तुल्याउन विभिन्न बखेडा झिकेर क्याम्पसको शैक्षिक वातावरण खल्बल्याउने कार्यको नेतृत्व अनेरास्ववियुले गर्दै आएको क्याम्पसमा अध्यनरत छात्र अमित साहले बताए। 



विगतमा सोही क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्न निकै कष्टकर रूपमा संघर्ष गर्दै आउनु परेको थियो । क्याम्पसको आफ्नै भवन निर्माण भएपछि क्रमसः शैक्षिक सुधारको कार्यहरू गर्न व्यवस्थापन समिति क्याम्पस प्रशासन र विद्यार्थी संगठनका अगुवाहरूले पहलकदमी लिँदै आएका थिए।  स्थानीय सरकार र प्रदेश सरकारबाट समेतको सहयोगमा विभिन्न संरचनाहरु निर्माण भएपछि आम्दानीको स्रोत बन्न गई क्याम्पसको आर्थिक स्तर समेत ह्वात्तै बढेको थियो।  

मुलुकमा अहिले एमाले नेतृत्वको सरकार रहँदा सत्ताको मातमा मैमत्त भई पछिल्लो समय क्याम्पसमा उदण्डता मच्चाउने किसिमको गतिविधि बढाउन अनेरास्ववियुको आडमा भइरहेको अराजकता रोक्न क्याम्पस प्रशासन समक्ष आफूहरुको माग रहेको विद्यार्थी नेता भीमराज अधिकारी बताउँछन्।

विद्यार्थी संगठन विद्यार्थीको हक अधिकारको लागि विभिन्न नीति निर्माण एबम् शैक्षिक संस्थाहरूको सुधारको निम्ति कटिबद्ध भएर लाग्नुपर्नेमा सो नभई अनेरास्ववियु जन ज्योति बहुमुखी क्याम्पसमा मात्र केन्द्रित भएर प्रतिशोधको राजनीति गर्न खोजेको भन्ने आरोप लाग्दै गएको छ । हुन त जिल्लामा उच्च शिक्षा अध्यापन हुने क्याम्पस एबम् चर्को शुल्क लिएर चलाउँदै आएका निजी विद्यालयहरु पनि जिल्लामा प्रसस्त छन् । तर ती शैक्षिक संस्थाको बिरुद्द चुइँक्क आवाज नउठाउने अनेरास्वबियु जनज्योति भने ठूलो स्वरले कराउँदै गर्दा संगठनको गरिमा माथि नै प्रश्न चिन्ह खडा भएको पूर्व विद्यार्थी नेताहरू बताउँछन् । 

अनेरास्ववियुले बखेडा झिकेर अराजक शैलीमा शुक्रबार क्याम्पसमा तालाबन्दी गर्न खोजेको भन्दै विद्यार्थीहरू आक्रोशित भएका छन्। राजनीतिक रोटी सेक्न क्याम्पस र विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने कार्य रोक्न र नरोके विद्यार्थीले नै प्रतिकार गर्ने  सोही क्याम्पसका विद्यार्थी अभिषेक चौधरीले चेतावनी दिएका छन्।