न्यूज डेस्क | साउन ११, २०८१ शुक्रबार

रौतहटको गरुडा नगर कार्यपालिकाको कार्यालयमा स्थायी दरवन्दीका कर्मचारीहरु हुँदा हुँदैपनि पछिल्लो समय करारका कर्मचारीको हालीमुहाली हुँदै गइरहेको पाइएको छ । उक्त नगरपालिकामा अधिकृत सरहका कर्मचारी समेत महिनौदेखि जिम्मेवारी विहीन झै भएर बस्ने गरेको पाइएको हो । नगरपालिका कार्यालयमा सरुवा भएर आएका निजामती सेवाका लेखा, प्रशासन र प्राविधिकतर्फका कर्मचारीलाई नगरपालिकाले उचित जिम्मेवारी नदिदा उनीहरुको कार्यसम्पादन समेत करार सेवाका कर्मचारीहरुले गरिरहेका छन् । कम्प्युटर अपरेटरको नाममा बिना प्रतिस्पर्धा नगर प्रमुख कन्थमनि कलवारको आशीर्वादबाट करारमा जागिर खाएका त्यसै मध्यका एक कर्मचारी हुन् उमेश दास।


पछिल्लो समय नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारी दास कै हालीमुहाली हुँदा विभिन्न किसिमको कमिसन, सेटिङ, अनियमितता र भ्रष्टाचारको आरोप समेत लाग्दै आएको छ । करारे कर्मचारी मार्फत काम गराएर आफूले झमेला भोग्नु नपर्ने भएको हुँदा केही कर्मचारी र जनप्रतिनिधि हरु नै त्यो कार्यमा लागेको स्थानीयवासी बताउँछन्।



गरुडा नगरपालिकाको सेटिङ मास्टर भनेर चिनिने उमेश दासले गरुडा नगरपालिकाको लेखा शाखामा रजगज गरिरहेका छन्। नगरपालिकामा लेखा प्रमुखको रूपमा कुमार ठाकुर रहँदा पनि दास कै चलखेल रहेको थियो भने हाल उक्त नगरपालिकामा लेखा प्रमुख सत्यनारायण सहनी भएतापनि विभिन्न शीर्षकहरूको खर्च अन्तर्गत दासले नै चेक बनाउने काट्ने देखि लिएर कमिसन उठाउने धाउन्नमा मात्र उनी केन्द्रित रहने गरेको सोही नगरपालिकाका सेवाग्राहीहरु बताउँछन् । उपभोक्ता समितिका कामहरू, जिन्सी शाखाको भुक्तानीमा समेत कमिसन खोज्ने दासको प्रवृत्ति रहेको पाइन्छ। कमिसन दिनेहरुको चेक तुरन्त बनाउने र नदिनेहरुलाई विभिन्न बहानामा अल्मल्याउने गरेको गुनासो पछिल्लो समय बढ्दै गएको एक उपभोक्ता समितिको अध्यक्ष बताउँछन्।



चेक बुझेपछि समिति सँग कमिसन लिन विभिन्न स्थानमा तथा चिया पसलहरुमा पुग्ने गरेको समेत आरोप उनीमाथि लाग्दै आएको छ । हुन त उनी विगतमा कटहरिया नगरपालिकामा समेत उस्तै कमिसनमा लिप्त भएर विवादित बन्दै आएका थिए । लेखा शाखामा रहेर रकमी चलखेल गर्न निकै खपिस रहेको र कमिसन मागेर जनतालाई दुःख दिएको गुनासो बढ्दै गएपछि उनलाई कटहरिया नगरपालिकाले सेवाबाट निकालेको थियो ।

अहिले गरुडा नगरपालिकाको मेयर कलवारको विश्वासपात्रको रूपमा लेखा शाखामा आफ्नो अधिपतित्व स्थापित गर्नमा दास लागि परेका छन् । नगर प्रमुख र उनको सचिवालयले कमिसन उठाउनै को लागि भर्ती गरेको भन्नेको जमात पनि गरुडा नगरपालिका भित्रै रहेको छ। दासको कारण पनि गरुडा नगरपालिका र मेयर कलवारले झनै विवाद खेप्नुपरेको समेत त्यहाँका एक कर्मचारीले प्राइम खबरलाई बताएका छन्।

नगरपालिकामा काम चुस्त दुरुस्त नभई स्थायी दरबन्दीका कर्मचारी हुँदाहुँदै उनीहरुलाई बेकामे बनाएर करारका कर्मचारीको म्याद थपेर नगरपालिकाले नगरको स्रोत र साधनको दुरुपयोग गरिरहेको स्वयम कर्मचारीहरु समेत बताउँछन् । आर्थिक चलखेल र जनप्रतिनिधि कै सेटिङमा पनि नगरपालिकाले करार कर्मचारीहरुको म्याद बर्सेनि थप गर्दै आएको छ । बिना प्रतिस्पर्धा भर्ती केन्द्र भएको भन्दै उप प्रमुख पुनम चौधरी सहितले उक्त कार्यको चौतर्फी रूपमा बिरोध हुन थालेपछि र सञ्चारमाध्यममा गरुडा नगरपालिकाको बेथिति बारे समाचार प्रकाशित भएपश्चात गएको मंगलबार नै सो नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी प्रतिस्पर्धाको आधारमा ३७ जना कर्मचारी करारमा माग समेत गरेको छ।