न्यूज डेस्क | साउन १३, २०८१ आइतबार

डाबरीको नाममा जंगल भित्र विद्युत पुर्याउने दाउमा चन्द्रनिगाहपुर विद्युत प्राधिकरण शाखा रहेको देखिएको छ।


बन् क्षेत्र भित्रै विद्युत लगायतको सुविधा पुग्ने भएपछि अतिक्रमणको लागि समेत सहज हुने हुँदा बन् अतिक्रमणको जोखिमलाई बढावा दिँदै  आएको छ। बन् कार्यालय चन्द्रनिगाहपुरका अधिकृत राम केवल यादवको सेटिङमा जंगल भित्र विद्युतीकरण हुन लागेको बुझिएको छ। 



डबरी पर्यटकीय पार्कमा विद्युत विस्तार गर्न ठूलै चलखेल भएको समेत स्थानीयको बुझाइ रहेको छ। सो स्थानमा विद्युत पुर्याउन भन्दै ४६ थान पोल डाबरिको जंगलमा विद्युतले झारेर राखेपछि उक्त कुराको खुलासा भएको हो।



४६ थान पोल भनेको ७ किलोमिटर भित्र रहेको लमहा सम्म विद्युत पुर्याउन पर्याप्त मात्रामा आवश्यक पोल संख्या हो । विद्युतको विस्तार भएपछि सो स्थानमा बन् अतिक्रमणको समेत जोखिम उत्तिकै रहेको हुने हुँदा त्यसतर्फ डिभिजन बन् कार्यालय चन्द्रनिगाहपुर समेत मुकदर्शक बनेको छ।

उता विद्युत प्राधिकरण भने जनतालाई आवश्यक परेको स्थानमा घर गाउँमा विद्युत तार पोल पुर्याउन भने विभिन्न किसिमको समस्या देखाउने तर अनुत्पादक क्षेत्रमा विद्युतीकरणको लागि सक्रियता देखाउनुले विद्युत कर्मचारीको समेत नियत स्पष्ट नभएको देखिन्छ ।

चन्द्रपुर वडा नं २ जुडिबेला स्थित रहेको पुलामी टोलमा विद्युत पोल आवश्यक रहेको हुँदा विभिन्न प्राविधिक समस्या देखाएर कार्यालय पन्छिएको स्थानीय सञ्जय पहरीले बताए । तर एउटै पनि घर वा सिंचाई मोटर अथवा कुनै पनि ग्राहक  नभएको स्थानमा ठूलो रकम खर्चेर विद्युत विस्तार गर्नुमा कुनै नेता वा व्यक्तिको स्वार्थ सिद्ध गर्ने खेल भन्दा अरु केही हुन नसक्ने अन्यको बुझाइ रहेको छ।

सो क्षेत्रमा डाबरीको वनलाई अतिक्रमण गरी घर टहरा निर्माण गरेर सटर निर्माण गरी केहीले आयश्रोत बनाउन खोजेको आरोप लाग्दै आएको छ।