न्यूज डेस्क | साउन २१, २०८१ सोमबार

राजीनामा दिएर प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि ढाकास्थित उनको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट समेत मच्चाएका छन् । बंगलादेशमा हसिनाको राजीनामा पछि प्रदर्शनकारी ढाकास्थित प्रधानमन्त्रीको आवासमा छिरेका थिए । तस्वीरहरूमा प्रदर्शनकारीलाई प्रधानमन्त्री आवासको सामान उठाएर लगिरहेको देख्न सकिन्छ।


बंगलादेशका स्थानीय टेलिभिजन च्यानलहरुमा देखाइएका फुटेजहरुमा प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासबाट सोफा,कुर्सी लगायतका सामानहरू लैजाँदै गरेको दृष्य देखिएको हो ।



बंगलादेशमा गत महिनाबाट विद्यार्थीहरूले आरक्षण कोटा प्रणाली खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका थिए । पछिल्लो समय उक्त आन्दोलन हिंसात्मक बन्दै गएको थियो ।



बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी थिइन् । उनले सुरक्षित उडानका लागि सेनाको हेलिकप्टर प्रयोग गरेकी थिइन् । उनी अहिले सेनाको जहाजमा भारतको दिल्लीतिर लागेको बताइएको छ ।

त्यसपछि बंगलादेशका सेना प्रमुख जनरल वकार उज जमानले देशलाई सम्बोधन गर्दै मानिसहरूलाई शान्ति कायम गर्न अपील समेत गरेका छन् । बंगलादेशबाट प्रधानमन्त्री नै भागेपछि नेपालका नेताहरु  थर्कमान भएका विश्लेषणहरु समेत हुन थालेका छन् । शेख हसिनाले देश छोडेपछि एमाले सचिव गोकर्ण विष्टले  ‘सर्वशक्तिमान् जनतानै हुन् र अन्तिम शक्ति जनतामै निहित रहन्छ’ भनेर आफ्नो अभिप्राय प्रकट गरेका छन् ।