न्यूज डेस्क | साउन २४, २०८१ बिहिबार
रौतहट। नेपाल किसान महासंघ जिल्ला कार्य समिति रौतहटको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस निकट किसान महासंघले आफ्नो स्थापना दिवसको अवसर पारेर जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं १० स्थित बल्चनपुर बक्तौराम अवस्थित तेली समाज धर्मशालामा विशेष कार्यक्रम गरी आफ्नो ७२ औं स्थापना दिवस मनाएको हो।
महासंघको जिल्ला अध्यक्ष कमल बहादुर राउतको सभाध्यक्षतामा बिहीबार सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तह र तप्कामा रहेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र)ले किसानको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। आफूले नेतृत्व गरेको अर्थ मन्त्रालय रहेको हुँदा मन्त्रालयको तर्फबाट विभिन्न बजेट र नीति तथा कार्यक्रम निर्माणमा किसानले भोग्दै आएको समस्याको कारण अन्न उब्जाउमा ह्रास आएको र अर्थतन्त्र समेत बिग्रँदै गएको प्रति आफ्नो विशेष ध्यान केन्द्रित रहेको बताएका छन् ।
मधेश प्रदेश अन्न उब्जाउको भण्डार नै रहेको तर यहाँ समयमा किसानले बीउ बिजन, रासायनिक मल तथा सिंचाईको पहुँच नपुग्दा समस्या भोग्नुपरेको पीडा आफैले भोगेको समेत बताए। आफू जुनसुकै पद र मर्यादामा रहेको भएता पनि सर्वप्रथम आफू कीसानको छोरो रहेको समेत प्रमुख अथिति मन्त्री यादवले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस रौतहटका प्रभावशाली नेता मिथिलेश मिश्रा, मधेश प्रदेश प्रवक्ता सूर्य बहादुर थापा, जिल्ला समन्वय समिति सभापति राम अयोध्या यादव, नेपाली कांग्रेस महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरु लगायत गढीमाई नगर प्रमुख श्याम यादव, माधव नारायण नगरपालिकाका प्रमुख वैद्यनाथ यादव सहित गुजारा र चन्द्रपुर नगरपालिकाका उपप्रमुख लगायतको उपस्थिति रहेको थियो।
जिल्लामा किसान महासंघले विविध कार्यक्रम गर्दै संगठन सुदृढ गर्दै नेपाली कांग्रेसलाई चलायमान बनाउन खेलेको भूमिकाको कार्यक्रममा सहभागी सबैले उच्च प्रशंसा समेत गरेका थिए।