न्यूज डेस्क | साउन २४, २०८१ बिहिबार
रौतहट। मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव जितेन्द्रले पार्टी भन्दा ठूलो पद नभएको बताएका छन्। नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति समेत रहेका मन्त्री यादवले पद भन्ने कुरा गौर्ण रहेको हुँदा पार्टी संगठन बलियो भएको खण्डमा मात्र प्रभावकारी हुने बताएका हुन्।
नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ रौतहटको आयोजनामा बिहीबार चन्द्रपुर १० स्थित बालचनपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका मन्त्री यादवले सम्बोधनको क्रममा यस्तो बताएका हुन्।
नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा एकल बहुमत सहित सरकारको नेतृत्व गर्ने गरी संगठन निर्माणमा जुट्न कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उनको भनाइ रहेको छ। युवा नेताको रूपमा बेग्लै पहिचान बनाएका मन्त्री यादव रौतहट क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट निर्वाचित सांसद हुन्।