प्राइम खबर संबाददाता | साउन २५, २०८१ शुक्रबार

रौतहट। चन्द्रनिगाहपुर सरकारी अस्पतालले डिजिटल एक्सरे मेसिन शुक्रबारबाट सञ्चालनमा ल्याएको छ। अत्याधुनिक प्रविधिको उक्त पाँच सय एमएको एक्सरे मेशिन डीआर सिस्टमको रहेको अस्पतालका रेडियोग्राफर दीपेन्द्र झाले बताए । विगतमा पुरानो एक्सरे मेसिन बिग्रिएर लामो समयदेखि सेवा प्रभावित भएको अवस्थामा तत्कालीन समस्या समाधान गर्न नगर प्रमुख सञ्जय कुमार काफ्लेको पहलमा सानो क्षमताको एक्सरे मेसिन जडान गरिएको थियो।


उक्त एक्सरे मेशिनमा दैनिक १० जना सम्ममात्रको एक्सरे हुने हुँदा बिरामीको चाप रहेको बेला सेवा प्रदायकले समस्या भोग्नुपरेको थियो। शुक्रबार एक कार्यक्रमका बीच चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले नयाँ डिजिटल एक्सरेको उद्घाटन गरेसँगै सेवा सुविधामा सहज हुने भएको हो। उक्त अस्पतालमा एक्सरे मेसिन सहित गर्भवती महिलाहरूको लागि मल्टिफन्कसनल डिजिटल युएसजी ( भिडियो एक्सरे) मेसिन र अटोमेटेड हेमाटोलोजी एनालाइजर मेशिन फाइभ पार्ट समेत सञ्चालनमा ल्याएको ल्याएको छ ।



नगरप्रमुख सञ्जय कुमार काफ्लेको पहल र चन्द्रपुर नगरपालिकाको सहयोगमा बहुउपयोगी मेशिनहरु अस्पतालमा उपलब्ध भएसँगै अस्पतालमा सेवा लिन आउनेहरूको लागि सुलभ दरमा सहज रूपले सेवा प्रवाह हुने भएको छ । अस्पतालमा ल्याइएका तीन महत्वपुर्ण उपकरणहरूको एक कार्यक्रमका बीच चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफले र उपप्रमुख जयमाला चौधरीले पूजा गरेर उदघाटन गरेका हुन्। नयाँ जडित उक्त एक्सरे मेशिनबाट सैयौंको संख्यामा बिरामीको एक्सरे गर्न सकिने समेतको विशेषता उक्त एक्सरे मेसिनको रहेको बताइएको छ।



अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका चन्द्रपुर नगरपालिकाका युवा नगर प्रमुख सञ्जय कुमार काफलेले अस्पतालबाट हुने सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिन आफू प्रतिबद्ध रहेको समेत बताएका छन् । आफु निर्वाचित भएर आएपछि नगरबासीसँग गरेको पहिलो प्रतिबद्धता पूरा गर्दै अस्पतालमा चाहिने उपकरणको उपलब्धता सुनिश्चित गर्दै सेबा बिस्तारमा आएको प्रति आफूलाई समेत गर्व महसुस भएको बताएका छन्। उक्त डिजिटल एक्सरे मेशिन र ल्याबमा प्रयोग हुने एनालाइजर मेसिनका सम्पूर्ण सरसामान तथा पार्टपुर्जा जडान गरी दैनिक रुपमा सेवा दिन थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अभिनन्दन श्रीबास्तबले जनाए । उनका अनुसार उक्त ल्याब मेसिनबाट सिबीसी टेस्ट लगायतको जाँचहरु छिटो गर्नमा मद्दत पुग्ने र सही डाटा दिनमा समेत मेसिन सहयोगी हुने भएको छ ।

चन्द्रनिगाहपुर अस्पतालमा डा. श्रीवास्तव सहित ६ जना अनुभबी डाक्टरहरुबाट नियमित सेबा प्रदान हुदै आएको छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा नगरपालिकाले देखाएको सक्रियताको स्थानीयले समेत उच्च प्रशंसा गरेका छन् । डी आर प्रविधिको ५०० एम पी एक्सरे मेसिन,डिजिटल युएसजी ( भिडियो एक्सरे मेशिन ) र अटोमेटेड हेमाटोलोजी फाइभ पार्ट मेसिनलाई नगरले गौरवको योजनाको रूपमा समेत लिएको छ भने अस्पतालको भौतिक संरचनाको निर्माण तथा पुनःनिर्माण गर्न संघीय सरकार र प्रदेश सरकारको समेत बजेट विनियोजन भइसकेको हुँदै निर्माणको कार्य समेत छिट्टै थालिने नगर प्रमुख काफ्लेले बताए ।

अस्पताल परिसरमा भएको उद्घाटन कार्यक्रममा अस्पतालका कर्मचारीहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, सञ्चारकर्मीहरु सहित स्थानीय सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो। सो अस्पतालले सुरक्षित डेलिभरी , मातृशिशु, क्षयरोग, ओपीडी , आकस्मिक सेवा सहित सर्पदंशको समेत सफल उपचार गर्दै आएको छ।