न्यूज डेस्क | साउन २७, २०८१ आइतबार
नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा (प्रभाकर)ले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन । सरकारबाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन ।
पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन ।
उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा पार्टी निर्माण सम्पूर्ण विषय समेटेर १४ पृष्ठ लामो आफ्नो प्रस्ताव पेस गरेका हुन् ।
शर्माले पार्टीका सबै नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने प्रस्ताव समेत गरेका छन् । ओरालो यात्रामा रहेको माओवादीलाई पुनः गति दिनु अहिलेको आवश्यकता रहेको भन्दै शर्माले त्यसका लागि पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका खेल्दै २०८४ सम्म सरकारमा नजाने घोषणा गर्नुपर्ने समेत बताएका छन् । शान्तिप्रक्रिया लगत्तै समग्र पार्टी पङ्क्तिलाई अभियानात्मक रूपले उत्पादन र रोजगारी सृजनाका काममा आह्वान गर्दै हजारौँलाई यस अभियानमा जोड्न आवश्यक भए पनि यस सवालमा पार्टी रनभुल्लमा परेको शर्माको प्रस्तावमा उल्लेख छ । यस सम्बन्धी प्रस्ताव पार्टीमा राख्दासमेत कुनै सुनवाइ नभएसँगै पार्टीको ओरालो यात्रा सुरु भएको शर्माको निष्कर्ष छ ।
यस्तै पार्टीको तर्फबाट संवैधानिक र नीतिगत व्यवस्थालाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमार्फत संस्थागत गरी स्थायित्व दिनु आवश्यक भए पनि त्यसो हुन नसकेको शर्माको निष्कर्ष छ । यस्तै भूमिसुधार र भूमिको व्यवस्थापनमार्फत जनजीविकाको प्रबन्ध मिलाउन नसकिएको, भूमि र कृषि क्षेत्रलाई नजरअन्दाज गरिएको, कृषिमा आश्रित ठुलो जनसङ्ख्यालाई कृषिमा आधारित उद्योगमार्फत रोजगारी दिलाउन नसकिएको र समग्र खाद्य सङ्कट समाधान गर्न नसकिएको शर्माको निष्कर्ष छ । यस्तै तमाम कारणले त्याग, बलिदान र जनताको योगदानबाट प्राप्त उपलब्धिहरू आखिर केका लागि भन्ने प्रश्न उठेको शर्माको प्रस्तावमा उल्लेख रहेको ती सदस्यले बताए ।
‘त्यसपछि माओवादी पार्टी योजनाविहीन र सङ्गठनविहीन बन्न पुग्यो । आज हामीसँग संविधानका अलावा न जनाधार छ, न सङ्गठन छ। केही सीमित उपलब्धि बाहेक न कुनै देखाउन लायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ’, प्रस्तावमा भनिएको छ, ‘हाम्रा एजेन्डाहरू खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ । सहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेको छैन ।’ उनले बताएका छन् ।