न्यूज डेस्क | साउन २९, २०८१ मंगलबार
रौतहट। चन्द्रपुर ४ स्थित देउराली चोकमा अवस्थित रहेको जामिया इस्लामीया मदरसामा(विद्यालय) सञ्चालक समितिले ब्यापक घोटाला गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।
स्थानीय मुस्लिम समुदायका मानिसहरूबाट प्राप्त नगद र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालमा आईरहेको उक्त मदरसामा सञ्चालक समितिका पदाधिकारीले विद्यालयलाई प्राप्त अनुदान र सहयोग रकम अपचलन गरी भ्रष्टाचार गरेको आरोप स्थानीय अभिभावकहरुको रहेको छ ।
वि.सं २०५६ सालमा स्थापित उक्त मदरसा (विद्यालय)को अवस्था निकै जीर्ण रहेको र त्यसको निर्माणको लागि समेत आएका सहयोग रकमहरू विद्यालयमा खर्च नगरी व्यक्तिगत रूपमा खर्च गरेको भन्दै मंगलबार विद्यालय परिसरमा स्थानीय मुस्लिम समुदायका अभिभावकहरुको बिरोध कार्यक्रम रहेको मो. अरमान मन्सुरले बताए ।
उक्त विद्यालयका अध्यक्ष सेख जुल्फेकार सचिव अनबारुल हक र कोषाध्यक्ष जकसन् मियाँ कबाडीले विद्यालयको संस्थागत रकम अपचलन गरी अन्यलाई सापटीको रूपमा दिएको र तीन वर्ष अघि दिएको लाखौं रकम हालसम्म पनि विद्यालयलाई प्राप्त नभएको खुलासा भएको हो।
संस्थाका कोषध्यक्ष जकसन मियाँले १२ लाख ५० हजार रुपैयाँ आफू नजिकको व्यक्तिलाई चलाउन दिएको स्वीकार गरेका छन्। आफूबाट गल्ती भएको र आगामी दिनमा सुधार गरेर जाने समेत उनले बताए। यद्यपि विद्यालय जस्तो शैक्षिक संस्थाको रकम यसरी मनो पोली ढंगले चलाउने समितिका पदाधिकारीले कारबाहीको भागिदार हुनुपर्ने स्थानीय अरमान मन्सुरीको राय रहेको छ।
उक्त विद्यालयमा नगरपालिकाले दिवा खाजा, पोशाक, पाठ्य पुस्तक, पूर्वाधार लगायतको शीर्षकमा बजेट विनियोजन गर्दै आएको तर त्यसको कार्यान्वयन शून्यमा भएको स्थानीयको आरोप रहेको छ। उक्त मदरसा विद्यालयको वर्षौंदेखि साधारणसभा र लेखापरीक्षण समेत नभएको हुँदा उक्त विद्यालयमा लाखौं रकम घोटाला भएको दावी स्थानीयको रहेको छ।
संस्थागत रूपमा अनियमितता गर्ने सञ्चालक समितिको बिरुद्द अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिने तयारी भईरहेको समेत स्थानीयले जानकारी गराएका छन्।