न्यूज डेस्क | साउन ३०, २०८१ बुधबार

रौतहट। गौर नगरपालिकाले नगरमा बसोबास गर्ने स्थानियहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । नगरपालिकामा बसोबास गरिरहेका प्रत्येक नागरिकको शिक्षा, पेशा, व्यवसाय, स्वास्थ्य, घरको प्रकार, नक्सा पास भए नभएको, खानेपानी, शौचालय, चुल्हो तथा विद्युतको अवश्थाका बारेमा तथ्याङ्क संकलन गर्न लागिएको गौर नगरपालिकाका प्रमुख शम्भु साहले बताए ।


नगरपालिकाले गर्न लागेको घरधुरी सर्वेक्षणले स्थानियको पारिवारीक, भौतिक विवरण संकलन गर्ने उनले बताए । “बालबालिकाहरु विद्यालय गए वा नगएको तथ्याङ्क सहित समग्र नगरवासीको अभिलेख तयार पार्न सर्वेक्षण गर्ने तयारी छ ।” गौर नगरपालिकाका प्रमुख साहले भने “यो तथ्याङ्क हाम्रो सम्पति हुनेछ जसको सहायताले आगामी दिनमा नगरपालिकाले गर्नुपर्ने कामको योजना तयार पार्न निकै सजिलो हुनेछ ।”



नगरवासीको वास्तविक तथ्याँक संकलन गर्न नगरपालिकाबाट टोली परिचालन गरिने नगरप्रमुख शम्भु साहले बताए ।