न्यूज डेस्क | भदौ १, २०८१ शनिबार

सोलुखुम्बुको थामेखोलामा आएको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकप्टरमार्फत स्थलगत निरिक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टि भएको जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ।


शुक्रबार आएको बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।



नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मी क्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।