न्यूज डेस्क | भदौ ७, २०८१ शुक्रबार

सरकारले उत्तर छिमेकी चीनको विशेष पहलमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको हो । मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री केपी ओलीलाई सरकारी निवास बालुवाटारमा भेटेका चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (सीआईडीसीए) का उपाध्यक्ष याङ वेईकुनले उक्त निर्णयको स्वागत गरे ।


‘टिकटकमाथिको प्रतिबन्ध हटाउनुभएकोमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट प्रधानमन्त्रीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु’, उपाध्यक्ष याङले भनेका थिए । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २९ असोज २०८० मा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।



मन्त्रिपरिषदको निर्णय लगत्तै तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले टिकटकमाथि प्रतिबन्ध लगाइएकामा आपत्ति जनाएका थिए । उनले चिनियाँ प्रविधि र सामाजिक सञ्जाल बन्द गर्ने अमेरिकी नीतिअनुसार नेपालमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको आरोप लगाएका थिए ।