न्यूज डेस्क | भदौ ८, २०८१ शनिबार

चितवन । शुक्रबार तनहुँमा बस दुर्घटनामा परी मृत्यु भएका २५ जनाको शव भारत लगिएको छ । भारतको पश्चिम बंगालबाट आएको भारतीय सेनाको जहाजले शनिबार भरतपुरबाट ती शव लगेको हो । मृत्यु भएका २७ मध्ये दुई जनाको शव गाडीबाट गोरखपुर पठाइएको छ । उनीहरु बसका चालक र सह–चालक रहेको बताइएको छ ।


चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जहाज शव लिएर शनिबार साँझ ५ बजेर ८ मिनेटमा महाराष्ट्र राज्यको नासिकतर्फ उडेको छ । मृत्यु हुने २५ जना महाराष्ट्रको जलगाउँ जिल्लाका हुन् । त्यसअघि शवहरुको भरतपुर अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्सेलाई शव लिन र घाइतेहरुको अवस्था बुझ्न शनिबार नेपाल पठाएका थिए । खाड्से र उनीसँगै आएका महाराष्ट्रका विधायक सञ्जय शुभकरेले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए । गृहमन्त्री रमेश लेखकले घटनाबारे अस्पतालमै उनीहरुलाई ब्रिफिङ गरेका थिए ।



दुर्घटनामा घाइते भएका १६ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राज्यमन्त्री खाड्से र विधायक शुभकरे पनि सोही जहाजमार्फत स्वदेश फर्किएका छन् । भारतीय पर्यटक सवार यूपी५३एफटी७६२३ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।