न्यूज डेस्क | भदौ १४, २०८१ शुक्रबार
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमा केही कुरा संशोधन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र हो । मल्टिपार्टीसहितको डेमोक्रेशी हो । यसलाई हामीले स्थायी रुपमा स्थापना गर्न सक्नुपर्छ ।’ उनले भने, ‘कति कुराहरू यो संविधानमा संशोधन हुन सक्ने अवस्था आउँदैछ । कति कुराहरू आवश्यक पर्यो भनेदेखि सबैलाई ठाउँ हुने गरी संशोधन हुन सक्छ ।’
‘अहिले धेरै राम्रो र महत्वपूर्ण कामहरू भएको छ । यो संविधान समावेशी छ’, देउवाले भने, ‘समानुपातिकका सम्बन्धमा अझै केही कुराहरू समेट्नु पर्नेछ ।’ देउवाले भने, ‘समावेशीसहितको संविधान छ । कति मान्छे चुनावबाट ल्याउन धेरै गाह्रो छ । उहाँहरूलाई समावेशी गर्नुछ ।’
‘उहाँहरूलाई राज्य सत्तामा समावेश गराउनुपर्छ भन्ने धारणा छ । त्यसको आधारमा प्रजातन्त्रसहितको समावेशी सहितको महत्वको कुरा छ’, देउवाले भने, ‘यसलाई अझ राम्रोसँग अध्ययन गरेर अझ राम्रो बनाउन सकिन्छ ।’ सभापति देउवाले भने, ‘संविधान संशोधन हुन सक्ने अवस्था हो । यसमा फन्डामेन्टल कुरा के छ भने ? मौलिक कुराहरू परिवर्तन हुन सक्दैन । संशोधन हुन सक्ने कुराहरूमा संशोधन गर्नुपर्छ ।’
‘संशोधनका लागि समानुपातिक, समावेशिताका कुराहरू छन् । यी सबैलाई राखेर एउटा सबैको संविधान बनाउनु छ । सबैलाई समेटेको संविधान छ’, उनले भने । सभापति देउवाले शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न टीआरसी विधेयक सर्वसम्मतिले पारित भएको बताएका छन् ।