न्यूज डेस्क | भदौ १४, २०८१ शुक्रबार

भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो आइसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डस् कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड द बेष्ट बैंक इन एसेट्स क्वालिटी अवार्डबाट सम्मानित भएको छ । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको जनाएको छ ।


कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो । उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।



सो अवसरमा आयोजित ड्राइभिङ इफिसिएन्सिस् अक्रस द भ्यालु चेन विषयक प्यानल छलफल कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एसोसिएसनको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थिए । सो कार्यक्रममा उनले नेपालको बैंकिङ्ग परिदृष्य, बैंकिङ्गमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए । उक्त प्यानल छलफलमा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपाध्यायसंगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रा.लि.का उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा रही वक्ताहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए । सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी रहेका थिए ।



काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीम मार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।