न्यूज डेस्क | असोज २१, २०८१ सोमबार

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षतिग्रस्त बनेको संघीय राजधानी काठमाडौँ र प्रदेश राजधानी हेटौंडा जोड्ने तीनवटा छोटो दूरीका सडक मार्ग सञ्चालनमा आएका छन्। हेटौंडा-काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको महालक्ष्मीखोला–चखेल–मातातीर्थ सडक खण्ड, फाखेल–हुमाने–फर्पिङ सडक र सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाडौं जोड्ने सडक हिजो साँझबाट सञ्चालनमा ल्याइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन कुमार मास्केले जानकारी दिए ।


आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मास्केले यी सडकमार्गहरुमा गएका एक सय भन्दा बढी पहिरो हटाइएको जानकारी दिए । कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमार्ग अन्तर्गत सिमखोला पुल नजिकैको पहुँचमार्ग बगाएपछि डाइभर्सन निर्माण गरिएको छ। कुलेखानी–सिस्नेरी खण्डको ज्यामिरेमा एउटा, कुलेखानी–फाखेल खण्डको महालक्ष्मी खोलामा एउटा, कुलेखानी हेवीमा एउटा र दक्षिणकाली नगरपालिका क्षेत्रमा गरी ५ वटा डाइभर्सन निर्माण गरिएको छ ।



दक्षिणकालीमा सरकारी स्वामित्वको जग्गाको समेत अभाव हुनेगरि बाटो बगाएपछि निजी जग्गामा डाईभर्सन बनाइएको मन्त्री मास्केले बताए । सडक सुचारु भएसँगै सबै सडक सञ्जालमा आइतबार सााझबाट नै यातायात सञ्चालनमा आएको छ ।



योसँगै काठमाडौँ हेटौंडा जोड्ने ५ वटा सडकमार्ग सञ्चालनमा आएको छ । कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–सडक र त्रिभुवन राजपथ यस अघि नै सञ्चालनमा आएका थिए । कान्तिलोकपथ निर्माण कार्य जारी छ ।