न्यूज डेस्क | मंसिर ३, २०८१ सोमबार
रौतहटको चन्द्रनिगाहापुरमा हुन गइरहेको प्रथम चन्द्रपुर मेयर कप टिट्वान्टि लिग क्रिकेट प्रतियोगिताको टाइसिट सार्वजनिक भएको छ ।
यहीं मंसिर ७ गतेदेखि १८ गतेसम्म चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित बेतौना कोटिहोम खेल मैदानमा हुन गइरहेको सो प्रतियोगिताको सोमबार पत्रकार सम्मेलन गरि टाइसिट सार्वजनिक गरिएको हो । संघर्ष युवा क्लव चन्द्रपुरको आयोजना तथा चन्द्रपुर नगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन गइरहेको सो प्रतियोगितामा रौतहट जिल्लाका ६ वटा पालिका सहित भारतको २ वटा टिमले सहभागिता जनाउने कार्यक्रम संयोजक देवराज कार्कीले बताएका छन् ।
सो प्रतियोगिताको समुह 'ए’ मा चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, यमुनामाई नगरपालिका र भारतको मुजफ्फरपुर तथा समुह 'बी' मा गरुडा नगरपालिका, माधवनारायाण नगरपालिका , कटहरिया नगरपालिका र भारतको पटनाको टिम रहेको कार्कीले जानकारी दिए ।
संयोजक कार्कीका अनुसार सो प्रतियोगिताको पहिलो खेल मंसिर ७ गते चन्द्रपुर नगरपालिका र गौर नगरपालिका बीच हुने र १७ गते फाइनल खेल हुने भएको छ। जनकपुर बोल्ट सहप्रायोजक रहेको सो प्रतियोगिताको विजेता, उपविजेता, म्यानअफ द म्याच, म्यान अफ द सिरिजका विजेताहरुलाई नगद सहित ट्रफीको व्यवस्था गरिएको र सबै खेलहरुको प्रत्यक्ष प्रशारण राष्ट्रिय टेलिभिजन, युट्युव, फेसबुकमा हेर्न सकिने संयोजक कार्कीको भनाई छ । चन्द्रनिगाहपुरमा भएको उक्त पत्रकार सम्मेलनमा रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साह , सदस्य गौतम श्रेष्ठ लगायतको उपस्थिीती रहेको थियो ।
सम्मेलनमा बोल्दै अध्यक्ष साहले रौतहट जिल्लामा क्रिकेटको विकास गर्न र नयाँ खेलाडीहरुको उत्पादन गर्न समेत यस्ता प्रतियोगिताहरुको आयोजना हुनुले राष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुग्ने बताए ।