न्यूज डेस्क | मंसिर २०, २०८१ बिहिबार

रौतहटको चन्द्रपुर नगरपालिका -५ स्थित चन्द्रनिगाहपुरमा  विधुतीय सवारी चार्जिङ स्टेसनको निर्माण कम्पनीले हस्तान्तरण गरे सँगै सेन्टरको औपचारिक रुपमा सुरु भएको छ । 


बिहिबार मधेश प्रदेशका पुर्वमन्त्री तथा नेपाली काङ्ग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादबले उद्घाटन गरेसँगै उक्त चार्जिङ स्टेसनको औपचारिक सुरुवात भएको हो । 
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फण्ड’ र चन्द्रपुर नगरपालिकाको लागत साझेदारीमा उक्त चार्जिङ स्टेसन निर्माण भएको थियो । मधेश प्रदेश कै ठूलो मानिएको  उक्त चार्जिङ सेन्टरबाट एक पटकमा ४ वटा चारपाङ्ग्रे गाडी, तीन पाङ्ग्रे ११ वटा  सम्म साना ठूला सवारी चार्ज गर्न मिल्ने चन्द्रपुर नगरपालिकाका इन्जिनियर महेश बोहोराले बताएका छन् ।



१५ वटा चार्जिङ प्वाइन्ट रहेको उक्त चार्जिङ स्टेशन निर्माणको जिम्मा पाएको  एन के थापा कन्स्ट्रक्सन काठमाडौंले निर्माण सम्पन्न पश्चात चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरे सङै विधिबत रुपमा सुरुवात भएको हो । 



चार्जिङ स्टेसनको उद्घाटन गर्दै पुर्व मन्त्री यादबले विधुतिय सवारीले कम खर्चमा यात्रा गर्न सकिने हुदा देशैभरी विधुतीय चार्जिङ स्टेसन थप्नुपर्ने धारणा राखेका थिए । इन्धन आयातमा कमी र पर्यावरण जोगाउन पनि विद्युतीय सवारी साधन उपयुक्त हुने हुँदा आफ्नो रोजाइ पनि इभि नै भएको बताए। 

चन्द्रपुर नगरपालिकामा मेयर सन्जय काफ्लेले मधेस प्रदेशको चन्द्रपुर नगपालिकामा सुबिधा सम्पन्न चार्जिङ स्टेसन बन्नु नगरको गौरबको कुरा भएको बताउदै सुबिधा सहित पालिकालाई आर्थिक आर्जन हुने समेत बताए ।  दुई करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो चार्जिङ सेन्टेरमा यात्रुहरुकालागी पार्क सहित चमेना गृह र रिफ्रेसमेन्ट सेन्टर समेत निर्माण भएको छ । 

निकट भविष्यमा होल्डिङ सेन्टरको रूपमा विकसित गर्नेगरी चार्जिङ स्टेसनको निर्माण भएको हुँदा प्रदेश सरकारबाट स्तरउन्नती को लागि बजेट छुट्याउन नगर प्रमुख काफ्लेले माग गरेका छन् ।