न्यूज डेस्क | पुस ९, २०८१ मंगलबार
रौतहट।जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा न. ८ यतिबेला प्रविधि मैत्री वडाको निर्माणका लागी जुटेको छ। वडा अध्यक्ष जितेन्द्र चौधरीको पहलमा उक्त वडाको केन्द्र सन्तपुर बजार र सुबलाल भागबत विद्यालय क्षेत्रमा सीसी क्यामेरा जडान, रात्रिकालीन सुरक्षाको निम्ति ठाउँ ठाउँमा टाबर लाइट र निःशुल्क वाईफाई जडान लगायतको कार्य थालनी भएको हो।
वडाबासिको सुरक्षा, आवश्यकता र चाहनालाई मध्यनजर राख्दै नयाँ कार्यको थालनी गरिएको समेत वडा अध्यक्ष चौधरीले बताएका छन्। प्रविधिमैत्री वडाको रूपमा वडा नम्बर ८ लाई विकास गर्नको लागि लागि परेका उनी पछिल्लो समय स्थानीय बासीलाई निःशुल्क इंटरनेट सुविधा दिन ठाउँ ठाउँमा फ्री वाईफाई जडानको कार्यमा लागि परेका हुन् ।
सूचना प्रविधिको युगमा वडा बासीलाई निःशुल्क इंटरनेट सेवा प्रदान गर्ने सोचले उनी पछिल्लो समयमा सक्रिय भएका हुन्। रातको समयमा आवतजावतमा सहज हुने र गाउँ टोलमा चोरी,डकैती लगायतका आपराधिक घटना लाई न्यूनीकरण गर्न मदत पुग्ने हुँदा चोक चोकमा टावर लाइट एबम् सिसी क्यामेरा जडान गरिएको उनले प्राइम खबरलाई बताएका छन्।
१० वटा वडा रहेको चन्द्रपुर नगरपालिकामा वडा अध्यक्ष चौधरीले देखाएको सक्रियता यतिबेला चर्चाको विषय बन्न पुगेको छ। वडा नम्बर ८ मा स्वास्थ, शिक्षा, खानेपानी र पूर्वाधार निर्माणको कार्य सँगै खेलकुद र सामाजिक विकाशको क्षेत्रमा पनि उनको योगदान अतुलनीय रहेको स्थानीय युवा सुमन गौतमले बताए।